पाठशाला न्यूज
 २०८२ मंसिर २९, आइतवार    

११ लाख अफगानी शरणार्थीलाई फिर्ता पठाउने निर्णय

२०८० आश्विन १०, बुधवार १८:५९ बजे

इस्लामाबाद : पाकिस्तान सरकारले ११ लाख अफगानी शरणार्थीलाई फिर्ता पठाउने निर्णय गरेको छ । तहरीक–ए–तालिबान आतङ्ककारीले पाकिस्तानी सेनामाथि आक्रमण गर्न थालेपछि पाकिस्तानले यस्तो निर्णय लिएको हो ।
केही समययता सीमा क्षेत्रमा गोली हानाहान भइरहेको छ । पाकिस्तानी सेनाले तोर्खाम नाका बन्द गरेर अब अफगानिस्तानबाट आउने शरणार्थीमाथि ठूलो कारबाही गर्ने कडा सन्देश दिएको छ ।
एक्सप्रेस ट्रिब्यून अखबारका अनुसार पाकिस्तानको कार्यवाहक सरकारले अफगानिस्तानबाट आएका ११ लाख शरणार्थीलाई फिर्ता पठाउन अनुमोदन गरेको छ ।
पाकिस्तानले यी अफगानी अवैध रूपमा आफ्नो देशमा बसिरहेको दाबी गरेको छ । अफगानिस्तानमा अगस्ट २०२१ मा तालिबान सरकार आएपछि ४ लाख अफगानी अवैध रूपमा पाकिस्तान प्रवेश गरेको पाकिस्तानले बताएको छ । यसैगरी देशमा अवैध रूपमा बसोवास गरिरहेका ७ लाख अफगान नागरिकको पहिचान भइसकेको स्रोतले जनाएको छ ।

पाकिस्तानी मन्त्रिपरिषद्ले ती अफगानीलाई उनीहरूकै देश फिर्ता पठाउने व्यवस्था मिलाउन अधिकारीहरूलाई आदेश दिएको छ । ती ११ लाख अफगानी शरणार्थीसँग पाकिस्तानमा बस्न न त भिसा छ न वैध कागजात नै ।
पाकिस्तानले यो निर्णयका बारेमा अफगानिस्तानको तालिबान सरकारलाई जानकारी गराइसकेको छ। टीटीपी आतंकवादीसँग विवाद बढेका वेला पाकिस्तानले अफगानी शरणार्थीहरूविरुद्ध यस्तो कदम चालेको हो ।
पाकिस्तानले टीटीपी आतंककारीलाई कारबाही गर्न पटक पटक तालिबान सरकारलाई भन्दै आएको छ। तालिबानले बारम्बार उनीहरूलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ । यद्यपि तालिबान सरकारले उनीहरूलाई अहिलेसम्म कुनै कारबाही गरिरहेको छैन ।
पाकिस्तानको यो कदमपछि अब तालिबान सरकारले जवाफी कारबाही गर्न सक्नेछ । टीटीपीले पाकिस्तानी सेनाविरुद्धको आक्रमण तीव्र बनाएको छ । हालै टीटीपीले पाकिस्तानको चित्राल जिल्लाको ठूलो क्षेत्र कब्जा गरेको थियो। उनीहरू अझै ती पहाडी शिखरमा बसिरहेको बताइएको छ । उनीहरूले पाकिस्तानी सेनामाथि लगातार आक्रमण गरिरहेका छन् ।