पाठशाला न्यूज
 २०८१ बैशाख १६, आईतबार    

नोबेल शान्ति पुरस्कार बिजेता नरगेस मोहम्मदीको जिवन, जेल र सङ्घर्ष

२०८० आश्विन १९, शुक्रबार २१:१७ बजे

तेजविक्रम कार्की 

काठमाडौं- नरगेस मोहम्मदी एक महिला मानव अधिकारकर्मी हुन् र उनि इरानमा मानव अधिकार रक्षक केन्द्र (DHRC) मा उप निर्देशक र प्रवक्ता समेत छिन्। उनको जन्म २१ अप्रिल सन् १९७२ मा भएको हो । उनि एक इरानी नागरिक हुन् ।

५१ वर्षीया मोहम्मदीलाई इरानमा १३ पटक पक्राउ गरिएको छ। ५ पटक दोषी ठहर गरिएको छ र कुल ३१ वर्षको जेल सजाय सुनाइएको छ। उनी हाल राज्य बिरुद्ध प्रोपोगाण्डा फैल्याएको आरोपमा जेलमा छिन्।

उनका पति राजनीतिकर्मी तागी रहमानी आफ्ना दुई छोराछोरीसँग पेरिसमा निर्वासनमा बस्छन् र उनीहरूले वर्षौंदेखि एक अर्कालाई देखेका छैनन्।

मोहम्मदीले इरानमा मृत्युदण्डको अन्त्यका साथै कैदीहरूको अधिकारका लागि वकालत गरिन्। उनको मानवअधिकार सम्बन्धित गतिविधिलाई राज्य बिरुद्धको कदमको रूपमा व्याख्या हुँदा उनी धेरै पटक जेलमा परिन्। सुरुमा सन् १९९८ मा इरानी सरकारको आलोचना गरेकाले उनलाई एक वर्ष हिरासतमा राखियो । फेरि सन् २०१० मा उनीलाई DHRC मा काम गरेको कारण एक महिना हिरासतमा राखियो। १८ मे सन् २०१६ मा मोहम्मदीको मानव अधिकार सम्बन्धी क्रियाकलाप बिरुद्ध उनलाई झुटो आरोप लगाइ क्रान्तिकारी अदालतले १६ वर्षको जेल सजाय सुनायो। राजनीतिक बन्दीहरूको लागि जेल सजाय घटाउने कानूनको अनुमोदन पछि उनी ८ अक्टोबर २०२० मा रिहा भएकी थिइन्। 

नरगेस मोहम्मदीले कारागारमा कैद हुँदा पनि कैदीहरूको अधिकारका लागि आफ्नो मानवअधिकारका गतिविधिहरू कायम राखिन् र रिहा भएपछि उनले आफ्ना कार्यहरूलाई तिव्रता दिइन् । 

"सेतो यातना" विरुद्धको अभियानलाई समर्थन गर्दै इरानी अधिकारीहरूले प्रयोग गरेको एकान्त कारावास जस्तो मनोवैज्ञानिक यातना प्रविधि बिरुद्ध उनले आवाज बुलन्द पारिन् । इरानमा कैदीहरूको लागि पूर्ण संवेदनाको अभाव रहेको तथ्यको बिरुद्ध बोल्न नछाडेपछि उनको रिहाईको एक वर्ष पछि १६ नोभेम्बर सन् २०२१ मा पुन: गिरफ्तारमा परिन्। गिरफ्तारमा परेको पाँच दिन पछि २२ नोभेम्बर सन् २०२१ मा सुनुवाईको लागि उनलाई शाहिद मोकादास अम्नियत (एभिन) अदालतमा ल्याइयो। त्यहाँ अक्टोबर २०२० मा रिहा भएदेखि उनले गरेका आपराधिक कार्यहरूको प्रमाणको रूपमा मानवअधिकार गतिविधिहरूको सूची प्रस्तुत गरियो । जसमा नोबल शान्ति पुरस्कारको लागि उनको नामाङ्कन हुनुलाई पनि आपराधिक गतिविधि को रुपमा लिइयो । उक्त मनोनयनलाई शत्रु राज्यको लागि जासुसी गरेको भनेर व्याख्या गर्दै राज्य बिरुद्ध लागेको प्रमाण बनाईयो । त्यसैगरी नोभेम्बर २०१९ मा भएको जन आन्दोलनमा मारिएकाहरुको स्मारकमा पिडित परिवारका सदस्यहरुसँग सहभागि हुनुलाई प्रमाणको रुपमा पेश गरियो । र इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर (IRGC) द्वारा जनवरी २०२० मा युक्रेन इन्टरनेशनल एयरलाइन्सको ७५२ बिमानलाई गोली हानेर झार्दा मारिएकाहरूको सुचि उनले लेखेको पुस्तक "सेतो यातना" मा समावेश गर्नुलाई पनि अपराधिक गतिबिधिको रुपमा पेश गरियो। उक्त पुस्तकमा एकान्त कारावासबाट पीडित र इरानी जेलमा महिला कैदीहरूमाथि हुने यौन दुर्व्यवहारको विरुद्ध बोल्नेहरूको गवाही समावेश गर्नुलाई समेत राज्य बिरुद्ध प्रोपोगाण्डा फैलाएको भनि प्रमाणको रुपमा प्रस्तुत गरियो । हाल यहि आरोपको लागि मोहम्मदी जेल सजाय काटिरहेकिछिन् । 

१२ जनवरी २०२२ मा उनलाई लगातार ६४ दिन एकान्त कारावासमा राखियो। यसरी राख्दा ४० दिन सम्म उनलाई सञ्चार सुविधाबाट पर राखि उनको परिवार र वकिललाई समेत भेट्न दिइएन र यहि अवस्थामा उनलाई अदालतमा उपस्थित गराइ जम्मा पाँच मिनेट सुनवाई गरियो। २५ जनवरी २०२२ मा उनलाई ८ वर्ष दुई महिना जेल, ७४ कोर्रा, २ वर्ष दूरसञ्चार उपकरण र सामाजिक सञ्जालमा प्रतिबन्ध, २ वर्ष निर्वासन र २ वर्ष राजनीतिक समूहहरूमा सदस्यता लिन नपाउने नयाँ सजाय सुनाइयो। अदालतको यो निर्णय इरानी सरकारसँग मिलिभगतमा आधारित थियो। 

१९ फेब्रुअरी २०२२ मा मुटुमा समस्या देखिएपछि नरगेस मोहम्मदीलाई अस्पताल भर्ना गरियो र मुटुको शल्यक्रिया पछि २२ फेब्रुअरीमा उनलाई स्वास्थ्य अवस्थाको कारण अस्थायी रिहाई दिइयो ।

लगत्तै २२ अप्रिलमा उनलाई उनको अपार्टमेन्टमा हिंसात्मक रूपमा गिरफ्तार गरि पुनः जेलमा लगियो। 

नरगेस मोहम्मदीलाई, न्याय खोज्ने आमा र सरकार विरोधीलाई समर्थन गर्न आमन्त्रित गरेको आरोप लगायत सुनसान छिमेकमा फोहोर फालेको भनि पूरक सजाय दिदै तेहरान क्रान्तिकारी अदालतले राज्य विरुद्धको झुटो प्रचारको आरोपमा परेको मुद्दामा अदालतमा अनुपस्थिति रहेको भन्दै ९ अक्टोबर २०२२ मा थप १५ महिनाको जेल सजाय सुनायो । 

उनि विगत छ वर्षको अधिकांश समय अन्यायपूर्ण रूपमा जेलमा परेकी छन् र २ वर्षभन्दा कम अवधिमा उनलाई ११ वर्ष ११ महिनाको जेल सजाय सुनाइएको यो तेस्रो पटक हो।

यस अघि नोबेल शान्ति पुरस्कार बाहेक महोम्मदीलाई अलेक्जेंडर ल्याङ्गर पुरस्कार (२००९) र आन्द्रेई सखारोभ पुरस्कार (एपिएस) (२०१८) पनि प्रदान गरिएको थियो।