पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

नागरिक उन्मुक्ति पार्टीका बागमती र गण्डकी प्रदेश अध्यक्ष पार्टीबाट निष्कासित

२०८० चैत्र २०, मङ्गलवार १०:१५ बजे

काठमाडौं- पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारु र रमेश विश्वकर्मालाई कुटपिट तथा अभद्र व्यवहार गरेको भन्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले दुई प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन् ।

अध्यक्ष श्रेष्ठले गण्डकी प्रदेशका अध्यक्ष राजन गुरुङ र बागमती प्रदेशका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाटै निष्कासन गरेकी हुन् । 

अध्यक्ष श्रेष्ठले निष्कासित दुबै तात्कालिक प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरिएको पत्र पठाएकी छन्।

सत्ता समीकरण फेरिएसँगै पार्टी अध्यक्ष रञ्जिता र संरक्षक रेशम चौधरीबीच विवाद बढेको छ । रन्जिताले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरे पनि उनका पति रेशम त्यसको विपक्षमा छन् । यही विवादको क्रममा सोमबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा रन्जिता र रेशम पक्षका नेताहरुबीच कुटाकुट भएको थियो ।

रेशम पक्षबाट कुटिएका मध्ये एक रमेशले सोमबार नै पत्रकार सम्मेलन गरी आफूहरुमाथि कुटपिट भएको र ज्यानको असुरक्षा बढेको बताएका थिए ।

यस लगत्तै रेशमले रञ्जिताकै कारण आफू आत्महत्याको तहमा पुगेको प्रतिक्रिया दिदैं पार्टी बिभाजनको समेत संकेत गरेका छन्। 

नाउपा की अध्यक्ष श्रेष्ठले भने हाललाई पति रेशम चौधरीको उक्त प्रतिक्रिया प्रति कुनै स्पष्ट धारणा सार्वजनिक गरेकी छैनन् ।