पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिए फिल्म ‘जवान’ र ‘सालार’

२०८० भाद्र १३, बुधवार ००:३० बजे

काठमाडौं–भारतीय फिल्म ‘जवान’ र ‘सालार’को नेपाल प्रदर्शन अधिकार अहिलेसम्मकै महंगो मूल्यमा बिक्री भएको छ । स्रोतका अनुसार शाहरुख खान स्टारर ‘जवान’लाई नेपाली वितरकले २.५० करोड भारु (४ करोड रुपैयाँ)मा खरिद गरेका छन् ।
प्रभास स्टारर ‘सालार’को अधिकार पनि सोही वितरण कम्पनीले २.७५ करोड भारु (४ करोड ७५ लाख)मा खरिद गरेको वितरण स्रोतले जनाएको छ । कुल मिलाएर एप्पल इन्टरटेनमेन्टले यी दुर्ई फिल्ममाथि झण्डै १० करोड नेपाली रुपैयाँ लगानी गरेको छ । ‘अहिलेसम्मकै उच्च मूल्यमा विदेशी फिल्मको नेपाल राइट बिक्री भएको हो,’ स्रोतले भन्यो । १५ प्रतिशत टीडीएस, १३ प्रतिशत रिभर्स भ्याट र भन्सार शुल्क पहिल्यै तिर्नुपर्ने भएकाले लगानी उच्च भएको जनाइएको छ । ‘चलचित्र विकास बोर्डले कलेक्सन सार्वजनिक गर्नु पनि एउटा कारण हुन सक्छ,’ स्रोतले भन्यो । यसअघि प्रभास स्टारर ‘आदिपुरुष’लाई वितरकले महंगो मूल्यमा खरिद गरेका थिए ।
नेपालमा चार करोड लगानी उठाउन फिल्मले १६ करोड ग्रसको व्यापार गर्नुपर्छ । स्टार र ब्यानरको आधारमा क्याटेगोरी ए, बी र सी गरी निर्माता कम्पनीले मूल्य तय गर्छन् । जसअनुसार क्याटेगोरी ‘ए’ फिल्मको मूल्य यसअघि एक करोड २५ लाख भारु, क्याटेगोरी ‘बी’को मूल्य यसअघि ५० देखि ६० लाख भारु र क्याटगोरी ‘सी’को मूल्य यसअघि पाँच देखि १५ लाख भारु तय हुन्थ्यो ।
शाहरुखको आगामी फिल्म ‘डंकी’, सलमानको ‘टाइगर ३’ र रणवीर कपुरको ‘एनिमल’ पनि उच्च मूल्यमा वितरकले लिन चाहेको जनाइएको छ ।