पाठशाला न्यूज
 २०८१ बैशाख २०, बिहीबार    

केपी ओलीलाई गद्दार भन्ने आम जनता पार्टीका कुन्दन कुशवाह पुनः एमाले पार्टी प्रवेश

२०८० फाल्गुन १०, बिहीबार १३:०१ बजे

दिपु मिश्र 

काठमाडौं- केपी ओलीलाई गद्दार भन्ने आम जनता पार्टीका कुन्दन कुशवाह पुनः एमाले पार्टी प्रवेश गरेकाछन्। 

आम जनता पार्टीका उप-महासचिव कुन्दन कुस्वाहा लगायतका केही व्यक्तिहरू नेकपा (एमाले) पार्टी प्रवेश गरेका हुन्। 

ललितपुरको च्यासल स्थित एमाले पार्टीको केन्द्रिय कार्यलयमा पार्टी केन्द्रिय कमिटीको आज अन्तिम दिन जारी बैठकलाई केहि बेरको लागि स्थित गरि पार्टी प्रवेश कार्यक्रमको छुट्टै आयोजना गरि कुस्वाह लगाएत आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्द कुमार यादव, सञ्जय कुमार शाहसँगै सरफलाल महतो, दीपक कुमार दुबे र सुरेन्द्र प्रसाद चौधरी नेकपा एमाले प्रवेश गरेका हुन्। 

केहि दिन अगाडी मात्र आम जनता पार्टीको केन्द्रिय उप-महासचिव पदमा निर्वाचित कुश्वाह यस अघि नेकपा एमालेको मधेस प्रदेश सदस्य रहेका थिए। 

गत प्रतिनिधि सभाको चुनावमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य रहेका प्रभु साह सहित पार्टी जिल्ला अध्यक्ष त्रिभुवन साह, कुन्दन कुशवाह लगाएतले के.पी.‌शर्मा ओलिलाई गद्दार भन्दै नेकपा (एमाले)पार्टीलाई चुनावको मुखमा धोका दिएर स्वतन्त्र उमेदवारी दिएका थिए । चुनावमा प्रभु साह‌ एक जना मात्रै बिजयी भएपछि रौतहट जिल्ला एमालेको सम्पुर्ण संगठनलाई ध्वस्त पारि निजहरुले आम जनता पार्टी दर्ता गरेका थिए । पार्टी दर्ता गर्नु अगाडी आईटि आर्मी नामक भातृसंगठन निर्माण गरि एमाले भित्र रहेर मधेसका अधिकांश पार्टी संरचना भत्काएर निजहरुले नयाँ छुट्टै पार्टी गठन गरेका थिए।  

पछिल्लो समय मधेस प्रदेशमा पार्टी सचिव रघुबिर महासेठलाई कमजोर बनाउन लागि परेका पार्टी महासचिव शंकर पोख्रेलको समुह रौतहट जिल्ला अधिवेशनमा पराजय भोगेपछि आफ्नो समुह हावि हुन पार्टीलाई गद्दारी गरि गएका गैर कम्युनिष्ट झुन्डहरुलाई एकत्रित गर्दै पार्टी मजबुत हुन्छ भनेर अध्यक्ष ओलिलाई झुक्याउन सफल भएका छन्। 

मधेस प्रदेशको महोत्तरी जिल्ला अधिवेशनमा पार्टी महासचिव निकट समुह चुनावमा सफल भए लगत्तै सोहि समुहका पार्टी केन्द्रिय सदस्य सरोज यादवको नेतृत्वमा रौतहट जिल्ला अधिवेशनमा महासचिव टिमलाई सहयोग गर्न रौतहट आएका थिए । तर महासचिव निकट समुह हार्ने निश्चित देखिएपछि सर्वसम्मत नेतृत्व चयन गराइ जिल्लामा हावि हुने रणनीति अपनाईएको थियो। यद्यपि चुनावी प्रकियामा केन्द्रिय सचिव महासेठ निकट समुह बिजयी भएको थियो। रौतहट जिल्लामा आफ्नो समुह कमजोर सावित भएपछि तत्कालै महासचिव निकट समुहले पार्टीलाई मुख्य समयमा धोका दिई गएकाहरुलाई पुनः पार्टी प्रवेश गराई पार्टीमा चरम गुटबन्दीको सुरुवात गरेकाछन्। 

मधेस प्रदेश कमिटीका एक सदस्यका अनुसार यसरी चरम गुटबन्दी सुरु गर्नु पार्टीको हित बिपरीत हुने बताउछन् । "३सय ६४ दिन एमाले हुने र एक दिन धोका दिने प्रवृत्तिका कार्यकर्ताहरुलाई यसरी पार्टी भित्र प्रवेस गराई पार्टीको महत्त्वपूर्ण निति तथा कार्यक्रमहरूमा एकजुट भएर अगाडी बढेका पार्टीका निस्वार्थ भावले लागिपरेका अन्य कार्यकर्ताहरुको उपहास गरिनु हुन्न ।" उनले बताएकाछन्।