पाठशाला न्यूज
 २०८१ बैशाख २०, बिहीबार    

उपनिर्वाचन : सुहाङ नेम्वाङलाई जिताउन एमाले र माओवादी केन्द्रबिच सहमति

२०८० चैत्र २८, बुधबार २१:०५ बजे

विराटनगर : वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम २ बाट एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन एमाले र माओवादी केन्द्रले पाँचबुँदे सहमति गरेका छन् ।
दुई पार्टीको कोशी प्रदेशस्तरमा गरिएको बैठकको निर्णय बुधबार सार्वजनिक गरिएको हो । नेकपा एमाले मोरङको विराटनगरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी दुई पार्टीका अध्यक्षद्वय घनश्याम खतिवडा र हर्कबहादुर नेम्वाङ (मिक्सो)ले उक्त सहमति सार्वजनिक गरेका हुन् ।
निर्णयमा उपनिर्वाचनमार्फत वामपन्थी शक्तिबीचको सहकार्य र भविष्यमा सुदृढ कम्युनिष्ट पार्टी एकताको आयामको रूपमा जग तयार गर्ने उल्लेख छ ।
यस्तै सामूहिक रूपमा अग्रसरता लिने, स्थानीय नेता कार्यकर्ताको मनोबल उठाउन र पार्टी पंक्तिमार्फत शक्ति सञ्चय गर्न समूह बनाएर लाग्ने, निर्वाचन क्षेत्रसँग जोडिएका छिमेकी जिल्ला र पालिकाका मतदातालाई आकर्षित गर्ने, जिल्लास्तरमा चुनाव सहयोग संयन्त्र गठन गर्ने र त्यसमार्फत एमालेका सुहाङ नेम्वाङलाई मत दिन सार्वजनिक अपिल गर्ने दुई पार्टीले निर्णय गरेका हुन् ।

उक्त निर्वाचन क्षेत्रमा काँग्रेसबाट डम्बर खतिवडा, रास्वपाबाट मिलन लिम्बू, पहिचानवादीका तर्फबाट डकेन्द्रसिंह लिम्बूलगायतले प्रतिस्पर्धा गरिरहेका छन् ।