पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

एक खेल बाँकी छँदै भारतले अष्ट्रेलिया विरुद्धको टी–२० सिरिज जित्यो

२०८० मंसिर १६, शनिवार ११:१३ बजे

काठमाडौं : भारतले एक खेल बाँकी छँदै अष्ट्रेलिया विरुद्धको टी–२० सिरिजको उपाधि जितेको छ । शुक्रबार राति सम्पन्न सिरिजको चौथो खेलमा अष्ट्रेलियालाई २० रनले पराजित गर्दै भारतले सिरिज जितेको हो ।
भारतले सिनियर खेलाडी विनै अष्ट्रेलिया विरूद्धको टी–२० सिरिज जितेको हो । एकदिवसीय विश्वकपमा पराजित भएपछि यो सिरिजमा भारतले रोहित शर्मा, विराट कोहली लगायत अनुभवी खेलाडीलाई आराम दिएको थियो । अष्ट्रेलियाले पनि यो सिरिजमा केही अनुभवी खेलाडीलाई मैदानमा उतारेको थिएन ।
भारतले दिएको १७५ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ७ विकेटेको क्षतिमा १५४ रन मात्रै बनाउन सक्यो । ट्राभिस हेडको विस्फोटक ब्याटिङमा सुखद सुरूवात गरेको अष्ट्रेलिया उनको विकेटपछि धर्मराएको थियो ।
४.४ ओभरमा अक्षर पटेलको बलमा मुकेश कुमारबाट क्याच आउट हुनअघि १६ बलमात्र खेलेका हेडले ५ चौका र १ छक्का प्रहार गर्दै ३१ रन बनाएका थिए ।
त्यसअघि भारतका रवि बिस्नोईले ३.१ ओभरमा ओपनर जोस फिलिपेलाई बोल्ड गरेका थिए । ओपनरद्वय आउट भएपछि बेन मिकडेरमटले १९ रन, एरोन हार्डीले ८ रन, टिम डेविडले १९ रन, म्याथ्यु सोर्टले २२ रन म्याथ्यु वाडेले नट आउट ३६ रन बनाए ।
बलिङमा भारतका अक्षर पटेलले ३, दीपक चाहरले २ तथा रवि बिस्नोई र अवेश खानले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा १७४ रन बनाएको थियो ।
भारतका लागि रिंकु सिंहले सर्वाधिक ४६ रन बनाए । २९ बल खेलेका उनले ४ चौका र २ छक्का हाने । पाँच खेलमध्ये भारतले सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो ।