पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

नेपाललाई पराजित गर्दै टि-२० क्रिकेट सिरिजको उपाधि युएईलाई

२०८० कार्तिक १०, शुक्रवार १५:४२ बजे

काठमाडौं- नेपाल, युएई र हङकङबीचको टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि यूएईले जितेको छ। त्रिवि मैदानमा शुक्रबार भएको उपाधि भिडन्तमा यूएईले नेपाललाई ४ विकेटले पराजित गरेको हो । 

नेपालले दिएको १६३ रनको लक्ष्य युएईले अन्तिम बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गरेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १६२ रन जोडेको थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले २९ बलमा ६ चौका र ३ छक्का हिर्काए। अर्धशतक प्रहार गरेलगत्तै उनी तेस्रो विकेटको रुपमा जाहूर खानबाट ७.३ बोल्ड भएका थिए।

यूएईले नेपालाई हराउने क्रममा पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको थियो। कप्तान मोहमद वासिमले पहिलो विकेट रुपमा गुल्सन झाबाट बोल्ड हुनुअघि २२ बलमा ७ चौका र २ छक्काको मद्दतमा ४५ रन बनाए।

पहिलो ओभरमा नेपालका सोमपाल कामीले पहिलो बलमा नोबलसहित १७ रन खर्चिएपछि नेपालले बलिङमा खराब सुरुवात गरेको थियो। 

त्यसपछि युएईका अर्यांश शर्मा २५ रन र आसिफ शान ७ रन जोडेर आउट भए। शर्मालाई कुशल मल्ल र खानलाई गुल्सनले आउट गरे।१५औं ओभरमा अलिसान शराफुलाई अभिनास बोहराले आउट गर्दा अर्को ओभरमा वृत्य अरविन्दलाई दीपेन्द्रसिंह ऐरीले डाइरेक्ट हिटमार्फत रनआउट गरेका थिए।

सिरिजमा नेपालले लिग चरणका चारै खेल जितेर फाइनलमा स्थान पक्का गरेको थियो। नेपालले युएई र हङकङ दुवैविरुद्ध उत्कृष्ट खेल देखाउँदा अपराजित रहन सफल भएको हो। युएईले भने लिग चरणमा एक खेल मात्र जितेको थियो।

हङकङलाई रनरेटमा पछि पारेर फाइनलमा स्थान पक्का गरेको युएईले ५ मध्ये २ खेल जितेर उपाधि कब्जा गर्‍यो।