पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

युनाइटेड एयरलाइन्सको प्लेनको टायर खस्दा पार्किङ गरिएका कारहरुमा क्षति

२०८० फाल्गुण २५, शुक्रवार १७:१६ बजे

अमेरिका- युनाइटेड एयरलाइन्सको विमान उड्ने क्रममा बिहिबार ल्यान्डिङ गियरबाट एउटा टायर खसेको छ।

बिहीबार सान फ्रान्सिस्को एयरपोर्टबाट उडान उडेको केही सेकेन्डमा विमानको मुख्य ल्यान्डिङ गियरबाट एउटा टायर खसेको हो । उक्त टायर एयरपोर्ट कै स्टाफ कार पार्कमा खस्दा पार्क गरि राखिएको एउटा कार क्षतिग्रस्त भएको छ। जापानको ओसाका जाँदै गरेको उक्त बोइङ-७७७ लाई तत्कालै लस एन्जलसतर्फ मोडेर सुरक्षित आपतकालीन अवतरण गरिएको थियो। सुरक्षित आपतकालीन अवतरणमा कोही पनि घाइते भएका थिएनन्। 

संघीय उड्डयन प्रशासनले सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा टायर गुमाएको युनाइटेड एयरलाइन्सको उडानको अनुसन्धान गरिरहेको छ।

एजेन्सीका अनुसार विमान सुरक्षित रूपमा लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नु अघि पार्किङमा धेरै कारहरूलाई क्षति पुर्‍याएको छ।

सान फ्रान्सिस्को विमानस्थलका प्रवक्ता डग याकेलका अनुसार बिहीबार बिहान ११:३५ बजे विमानले जापानको ओसाकाका लागि उडान भर्ने क्रममा "टेकअफको क्रममा ल्यान्डिङ गियरको टायरको एक भाग गुमाएको थियो।" युनाइटेड एयरलाइन्सले टेकअफपछि विमानको एउटा टायर झरेको पुष्टि गरेको छ ।

युनाइटेड उडान ३५, २४९ जना यात्रु र जहाजमा चालक दलको साथ लस एन्जलसको लागि डाइभर्ट गरिएको थियो र स्थानिय समय अनुसार दिउँसो १:२० बजे पछि अवतरण गरिएको थियो ।  

उक्त बिमान युनाइटेड एयरलाइन्सको बोइङ ७७७-२०० रहेको थियो। यसको प्रत्येक दुई मुख्य ल्यान्डिङ गियर स्ट्रट्समा छवटा टायरहरू छन् । उक्त बिमानका टायर खसेमा वा क्षतिग्रस्त भएमा बिमान सुरक्षित रूपमा अवतरण गर्न सकिने गरि डिजाइन गरिएको जानकारी युनाइटेडले एजेन्सीलाई बताएको छ । 

बिमानको सुरक्षित आपतकालीन अवतरण पश्चात सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग केही समयका लागि भग्नावशेष हटाउन बन्द गरिएको थियो ।