पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

नैतिकताको कुरा गर्न नसुहाउने कांग्रेसले चारैवर्ष संसद अवरुद्ध गरोस् : गृहमन्त्री लामिछाने

२०८० चैत्र ६, मंगलबार १६:३१ बजे

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दललाई चारवर्ष संसद् अवरुद्ध गरे पनि आफूहरूको संयन्त्रले भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताएका छन् । 

सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछाने मुछिएकाले छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको कांग्रेसले अन्यथा संसद अवरुद्ध हुने चेतावनी दिएपछि गृहमन्त्री लामिछानेको सो भनाइ सार्वजनिक भएको हो । 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न पर्याप्त प्रमाण रहेको दाबी गर्दै कांग्रेसले छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको हो ।

यसपछि सोही बैठकमा सहभागी भएर बाहिरिने क्रममा उपप्रधान तथा गृहमन्त्री लामिछानेले कांग्रेसलाई चारवर्ष संसद अवरुद्ध गर्न व्यंग्य गरेका हुन् । 

अनुसन्धान प्रभावित गर्न खोज्ने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने भन्दै उनले भने, ‘देशमा अनियमितता गर्नेमाथि अनुसन्धान गर्दा प्रभावित पार्ने र अनुसन्धान गर्ने व्यक्तिलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न सुहाउँदैन ।’