पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

सन्दीपले पुनरावेदन गरे लगत्तै उच्च अदालत जाने सरकारको अन्तिम तयारी

२०८० फाल्गुण १४, सोमवार १७:४३ बजे

काठमाडौं : नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा सरकारले पनि उच्च अदालत पाटनमा पुनरावेदन गर्ने अन्तिम तयारी गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले पुनरावेदनका लागि मस्यौता गरेर उच्च सरकारी वकिल कार्यालयमा पठाएको छ । उच्च सरकारी वकिल कार्यालयका प्रमुख शंखर खत्रीले जिल्ला सरकारी वकिल कार्यालयवाट पूनरावेदन गर्ने निर्णय आइतबार प्राप्त भएको र उच्च सरकारी वकिलको कार्यालय अध्ययन गरि मस्यौदा निर्माणमा लागेको बताए ।
उनले जिल्लाको फैसला बदर भई अधिकतम सजाय १२ वर्ष ठहर हुनुपर्ने जिकिर गर्ने तयारी गरेको जानकारी दिए । जिल्ला अदालतले पीडित गौशाला २६ बालिग ठहर गरे पनि त्यो निर्णय त्रुटिपूर्ण रहेको र उनी नाबालिग नै रहेको जिकिर सरकारी पक्षले गर्ने तयारी गरेको छ । लामिछानेले पीडितको आर्थिक अवस्थामात्र नभई उनी अपरिपक्व र निर्णय लिन नसक्ने अवस्थाकोसमेत फाइदा उठाएको दाबी गर्ने तयारी गरेको छ । जिल्लाले सीमित प्रमाण र आधारहरुको मूल्याकंन गरेकाले उक्त फैसला बदर भई नाबालिकामाथि जबरजस्तीकरणी गरेको अभियोगमा दोषी ठहर हुनुपर्ने तर्क गर्ने तयारी गरेको छ ।
लामिछाने भने यसअघि नै उच्च अदालत पुगेका छन्। फागुन १० गते सन्दीपका तर्फबाट पुनरावेदन दर्ता गराइएको थियो । उच्च सरकारी वकिल कार्यालयका प्रमुख खत्रीले एक साताभित्र आफूहरुले पूनरावेदन दर्ता गराउने बताए। ‘जिल्ला अदालतको फैसला बदर हुनुपर्ने नजिर,आधार र कारणहरुसहित हामी पूनरावेदन पत्र बनाइरहेका छौं,’ उनले भने, ‘अधिकतम कैद, बिगो र पीडितलाई क्षतिपूर्ति माग्ने तयारी छ ।’
जिल्ला अदालतको फैसला चित्त नबुझेमा दुवै पक्षले उच्चमा पुनरावेदन गर्न पाउने हक अन्तर्गत सन्दीपपछि सरकारी पक्ष उच्च अदालत जान लागेको हो । उच्चको फैसला पनि चित्त नबुझेमा सर्वोच्च जान पाइन्छ । सर्वोच्चबाट फैसला भएपछि भने कार्यान्वयनमा जाने छ । जिल्ला अदालत काठमाडौंको फैसलालाई चुनौती दिँदै क्रिकेटर लामिछानेले उच्च अदालत पाटनमा केही बुँदा उठाएका छन् । जिल्ला अदालत काठमाडौंले गरेको फैसला त्रुटिपूर्ण भएकाले सफाइ नै पाउनुपर्ने माग अघि सारेका छन् । उनले सँगै होटलमा बसेको तर आफूहरुबीचमा जवरजस्ती करणी नभएको र नियतसमेत नरहेको दाबी गरेका छन् ।
जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठह¥याउँदै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन माग गरेका हुन् । पुनरावेदनको फैसला नआउञ्जेल उनी जेल नबसी मुद्दा लड्ने सुविधा उच्चले दिएको छ । सन्दीप पक्षले उमेर पुगेका दुई युवा–युवतीका बीचमा भेट हुनु अनि शारीरिक सम्बन्ध राखेमा कानुनले बलात्कार नै हो भनी किटान नगर्ने दाबी गरेका छन् ।
जिल्ला अदालतले सजाय निर्धारण गरेपछि क्यानले उनलाई निलम्बन गरेको थियो । उनी अहिले खेलभन्दा बाहिर छन् । अदालतको फैसला अनुसार सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको छ । उच्च अदालत पाटनका अनुसार उनको निवेदन दर्ता प्रक्रियामा रहेको जानकारी दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको पुस १३ गतेको इजलासले सन्दीपलाई दोषी ठहर गरेको थियो। अदालतले सन्दीपविरुद्ध ८ वर्ष कैदसँगै ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।
सन्दीपले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर थियो । एक किशोरी (युवती)ले आफूमाथि काठमाडौंको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालमा सन्दीपविरुद्ध जाहेरी दिएकी थिइन् । पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको बताएकी थिइन् ।
पीडित किशोरीको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले बलात्कार गरेको दाबी अभियोगपत्रमा गरिएको थियो । सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीले बयान दिएकी थिइन । बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँचसमेत गराएको थियो ।
पीडित किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत् नजिकिएका थिए । स्न्याप च्याटमार्फत् चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ । आफ्नो कारमा राखेर सन्दीपले ती किशोरीलाई भदौ ५ गते ६ बजेतिर काठमाडौंबाट भक्तपुरतिर लगेको बताइएको छ ।
त्यसपछि आफूहरु नगरकोटसम्म पुगेको पीडित किशोरीले बयानमा बताएकी थिइन् । नगरकोटमा सन्दीपले मदिरा सेवन गरेको र त्यहाँबाट फेरि काठमाडौं फर्किएको किशोरीको भनाइ छ । काठमाडौं आइसक्दा रातिको ११ बजिसकेको र होस्टेल (छात्राबास) बन्द हुने भन्दै एक होटलमा कोठा बुक गरेर उनीहरु बसेका थिए । सोही होटलको कोठा नम्बर ३०५ मा सन्दीपले आफूमाथि बलात्कार गरेको पीडित किशोरीले बयानका क्रममा बताएकी छन् ।