पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

सुन तस्कर संग पूर्व आईजिपी धीरज प्रताप सिंहको सेटिङ

२०८० भाद्र १७, आइतवार ०२:२९ बजे

काठमाण्डौं–नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक धीरज प्रताप सिंह सुन तस्करीको अनुसन्धानमा तानिएका छन् । सुन तस्करी आरोपमा साउन १४ मा पक्राउ परेका दावा छिरिङसँग निकट सम्बन्धमा देखिएपछि सिंह अनुसन्धानको घेरामा परेका हुन् ।
प्रहरीको केन्द्रिय विधिविज्ञान प्रयोगशालामा गरिएको दावा छिरिङको मोबाइलको फरेन्सिक परीक्षण रिपोर्टमा दावा र सिंहबीचको कुराकानी फेला परेका हुन् ।
२०७९ वैशाख १८ मा नेपाल प्रहरीको २९ औँ महानिरीक्षक बनेका सिंह र दावाबीच एक डेढ वर्ष अघिदेखि सम्बाद हुने गरेको तथ्य फेला परेको छ ।
नेपालमा कल बाइपास, अनलाइनमार्फत भारतीय नागरिकलाई ठगी जस्ता अपराधमा संलग्न दावासँग दावा प्रहरीको फरार सूचीमा रहेकै बेला सिंहसँग प्रत्यक्ष संवादमा थिए । सिंह प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोको प्रमुख हुँदादेखि सुरु भएको संवाद आईजीपी हुँदासम्म निरन्तर रहेको पाइएको सीआईबी स्रोतले जनाएको छ ।
फरार अपराधीसँग धीरजको संवाद
२०७९ साउन ११ मा सिधाकुरा टिमले ठमेलको भियाना होटलमा दावा छिरिङको समूहले चलाएको कल सेन्टरमा ‘स्टीङ अपरेसन’ गरेकाे थियो ।
हाम्रो स्टीङ अपरेशनपछि होटल भियनाबाट ४ जना चिनियाँ पक्राउ परेका थिए । त्यतिबेला प्रहरीको अपराध अनुसन्धान महाशाखाले पक्राउ परेकालाई मुद्दा चलायो भने होटलका सञ्चालक दावा छिरिङलाई भने फरार सूचीमा राख्यो ।
अपराध महाशाखाले फरार सूचीमा राखेको दावा भने प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोका तत्कालिन प्रमुख धीरज प्रताप सिंहसँग प्रत्यक्ष संवादमा थिए ।

तत्कालिन डीआइजी धीरज प्रताप सिहं तत्कालिन २ नं प्रदेश प्रहरी कार्यालय जनकपुरबाट २०७८ असार ७ गतेबाट नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सीआईबीको नेतृत्व गर्न आए । सीआईबी उच्च स्रोत भन्छ, ‘त्यसपछि दावासँग निरन्तर संवाद देखिन्छ । प्रहरीको प्रणालीमै फरार अपराधीको सूचीमा रहेको मानिससँग निरन्तर त्यो पनि निकै घनिष्ट संवाद आफैँमा शंकास्पद छ ।’
ह्वाट्सएप संवादमा उनीहरु दाजु भाई बनेर खुशी साटासाट गरिरहेका र कयौं पटक भेट गरिरहेको देखिने गरेको अधिकारीहरु बताउँछन् । सीआईबी स्रोतका अनुसार सिंहले दावालाई पटक पटक आफैँ फोन गरेको समेत देखिएको छ ।
यस्तो छ धीरज प्रताप सिंह र दावाको कुराकानीः
२०७८ माघ २८ अर्थात, २०२२ फेब्रुअरी ११ मा दावाले ‘दाई नमस्ते, कङ्ग्राचुलेसन दाई, म दावा’ भन्दै म्यासेज पठाउँछन् । स्रोतका अनुसार उनीहरुको संवाद ह्वासएप, वी–च्याट भन्दा पहिले अन्य माध्यबाट समेत हुने गरेको दावाले अनुसन्धानका क्रममा खुलाएका छन् ।
दावाको म्यासेजको जवाफ धीरज प्रताप सिंहले तुरुन्तै फर्काउँछन् । भन्छन् ‘धन्यवाद भाई , के छ हालखबर ?’
त्यस लगत्तै दावाले जवाफ फर्काउँछन्, ‘सबै ठिक छ दाई ।’
दावाले फेरी लेख्छन्, ‘ह्वेन यू आर फ्री प्लीज डु कल मी । देन वी क्यान मिट ।’ अर्थात, ‘कतिबेला फुर्संद हुन्छ, मलाई कल गर्नुहोला । त्यसपछि हामी भेट्न सक्छौँ’ भन्दै दावाले म्यासेज पठाउँछन् ।
धीरज प्रतापले तत्कालै स्वीकार गर्दै लेख्छन् : ‘ओके’ (हुन्छ)
फेरि २०७८ चैत १७ गते अर्थात २०२२ मार्च ३१ का दिन धीरज प्रताप सिंहको डीआइजीबाट एआईजीमा बढुवा हुन्छ । त्यसको साँझ एआईजी धीरजको दावासँग फेरि संवाद हुन्छ ।

दावा लेख्छन् ‘दाई कङ्ग्राचुलेसन्स’ अर्थात ‘बधाई छ दाई ।’

र यस अघि भेट्ने योजना बनाएर भेट्न नपाएको कारण खुलाउँदै दावा लेख्छन् ‘दाई हजुर बीजी हुनुभाकोले नभेटेको ।’
यसका जवाफमा धीरजले ‘धन्यवाद ! दावा भाई ।’ भन्दै जवाफ पठाउँछन् ।
लगत्तै दावाले अर्को म्यासेज लेख्छन्, ‘अब हजुरको कुन दिन समय हुन्छ, त्यसपछि भेट्नु पर्यो । (इम्पोर्टेन्ट) काम छ ।’
त्यसको भोलिपल्ट २०२२ अप्रिल १ अर्थात २०७८ चैत १८ गते दावालाई एआइजी धीरज प्रताप सिहंले कल गर्छन् तर दावाले उठाउँदैनन् ।
केही बेरपछि दावाले धीरजलाई म्यासेज पठाउँछन्, ‘दाई सरी मोबाइल चार्जमा थियो । म घरमा छु ।’
यो संवादले दावा र धीरजको सम्बन्ध एक दुई दिनको होइन भन्ने स्पष्ट पार्छ ।
उनीहरुको संवादको श्रृङ्खला यतिमा मात्रै सिमित छैन ।
२०७८ चैत ३० अर्थात २०२२ अप्रिल १३ मा दावाले फेरि ‘हेप्पी न्यु इएर दाई’ भन्दै म्यासेज पठाउँछन् ।
जवाफमा धीरजले ‘थ्याङ्स, सेम टु यू भाई’ भन्ने जवाफ फर्काएका छन् ।
त्यसको केही समय पछि २०७९ बैशाख १२ अर्थात २०२२ अप्रिल १५ मा दावाले धीरजलाई म्यासेज पठाउँछन् । उनि लेख्छन्, ‘दाई नमस्ते, आई वान्ट टु विस यू अ भेरी ह्यापी न्यू इएर । क्यान वी मीट प्लीज ! इन्फर्म मी ह्वेन यू आर फ्री । एज सुन एज पोसिबल । धन्यवाद ।’

अर्थात

‘दाई नमस्ते, म तपाईंलाई नयाँ वर्षको धेरै धेरै शुभकामना दिन चाहन्छु । हामी भेट्न सक्छौँ ? कृपया तपाई फुर्सदमा भएको समयमा मलाई खबर गर्नुहोला । जतिसक्दो चाँडो । धन्यवाद ।’
१८ वैशाख २०७९ मा धीरज प्रताप सिंह नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक नियुक्त भए । कांग्रेस र माओवादी गठबन्धनको सरकारमा सिंहलाई आइजीपी नियुक्त गर्न तत्कालिन प्रधानमन्त्री पत्नी आरजु देउवाले महत्वपूर्ण भूमिका खेलेको जानकारहरु बताउँछन् । प्रहरी प्रमुख भएपछि पनि फरार सूचीमा रहेका दावासँग सिंहको बाक्लो कुराकानी हुने गरेको सीआईबी स्रोत बताउँछ ।
धीरज र दावाको संवाद यति मात्रै होइन उनिहरुको सम्पर्क पहिले देखिनै भएको देखिएको अनुसन्धान अधिकारी बताउँछन् । दावाको मोबाईल फरेन्सिक रिपोर्टबाट प्राप्त दावा र धीरजको संवादको विस्तृत विवरण केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीको अनुसन्धान फाइल भित्रै छ । धीरज र दावाको संवादको ‘ओरिजिनल कपी’ सिधाकुरासँग सुरक्षित छ । सुन प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोकाअनुसार दावासंगको सम्पर्कमा रहेकाहरु सबै अनुसन्धानको घेरामा तानिएका छन् ।
‘आफ्नै पूर्व महानिरीक्षक र दावाको सम्बन्ध सामान्य नरहेको पाइएपछि गहन विश्लेषण गरिरहेका छौं, ’ सीआइबी स्रोतले सिधाकुरासँग भन्यो, ‘धीरज प्रताप सिंह र दावाको सम्बन्ध थप केलाईरहेका छौं ।’
नेपाल प्रहरीको केन्द्रिय प्रवक्ता डीआइजी कुवेर कडायतले सुनसँग जोडिएका सबै मानिस अनुसन्धानको दायरामा रहेको बताए । ‘हामी अनुसन्धान गरिरहेका छौँ, यससँग जोडिने सबैको अनुसन्धान हुन्छ, क–कसको अनुसन्धान गरिरहेका छौं भनेर खुलाउन मिल्दैन ।’ सुन प्रकरणमा प्रहरीले तस्करी समूहको जरैसम्म पुगेर अनुसन्धान गरिहरको पनि कडायतको भनाई छ ।

के भन्छन् धीरज प्रताप सिंह ?
दावासँगको संवादबारे जानकारी माग्न हामीले निवर्तमान प्रहरी प्रमुख सिंहलाई फोन गरेका थियौँ । उनले सीआईबीले अनुसन्धान गरिरहेको विषयमा नबोल्ने बताए ।
दावासँगको सम्बन्ध के हो ? भन्ने प्रश्नमा उनले भने ‘सीआईबीले अनुसन्धान गरिरहेको विषयमा के बोल्नु ? उतै सोध्नुस्’, भन्दै उनले चटक्क फोन काटे । हामीले पुनः उनलाई पटक–पटक सम्पर्क गर्ने प्रयास गर्याैँ तर उनी हाम्रो सम्पर्कमा आएनन् ।


(साभार:सिधाकुरा)