पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

‘पावर एक्सरसाइज’ हुँदा एसपीको बढुवा अन्योल

२०८० पौष ४, बुधबार ०९:०६ बजे

काठमाडौं : एक महिनादेखि प्रहरी उपरीक्षक (एसपी) का सात पद रिक्त हुँदा पनि प्रहरी प्रधान कार्यालयले बढुवा गर्न सकेको छैन ।
गत मंसिर ५ गते पाँच एसपी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि सात एसपीको पद रिक्त भएको थियो । तर रिक्त भएको एक महिना बितिसक्दासमेत अझै बढुवा प्रक्रिया अन्योलमै छ । यसअघि प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवर इन्टरपोलको ९१ औं महासभामा भाग लिन अस्ट्रिया गएकाले बढुवा प्रक्रिया रोकिएको प्रहरी प्रधान कार्यालयले बताएको थियो ।
तर आईजी कुँवर अस्ट्रियाबाट फर्केको दुई साता बित्दासमेत अझै प्रहरी नाउव उपरीक्षक (डीएसपी) बाट एसपी बढुवा हुन सकेको छैन । डीएसपीबाट एसपी बढुवा लम्बिनुको कारण भने प्रतिस्पर्धीहरुको ‘पावर एक्सरसाइज’ रहेको बुझिएको छ । अहिले एसपीका सात पद रिक्त छन् । त्यसमा बढुवा हुन २०७२ मा इन्सपेक्टरबाट डीएसपीमा बढुवा भएकाहरु प्रतिस्पर्धामा छन् । यो लटका १२ जना अहिले एसपीको मुख्य प्रतिस्पर्धामा छन् ।

यही लटका तर उनीहरुभन्दा पछि डीएसपीमा बढुवा भएकाहरुसमेत अहिलकै बढुवामा पर्नका लागि पावर एक्सरसाइज गरेका छन् । जसकारण पनि बढुवा प्रक्रिया लम्बिएको पाइएको छ । पछिल्लो लटबाट मुख्यगरी सुमित खड्का, डा. तपन दाहालले बढुवाका लागि शक्तिकेन्द्रमार्फत तिव्र लविइङ दिएको बताइएको छ ।
खड्का माओवादी केन्द्रका नेता जनार्दन शर्मा निकट मानिन्छन् । दाहालको पनि सत्ता साझेदार दलसँग राम्रो सम्बन्ध भएका र आफ्नो कार्यसम्पादन समेत अब्बल रहेको दाबी गर्दै बढुवामा लविइङ गरेका छन् । अघिल्लो लटका १२ जना पनि सात जनाभित्र पर्न र सकेसम्म एक, दुई नम्बरमै बढुवा हुनका लागि शक्तिकेन्द्र धाएका छन् ।
१२ जनाको सूचीअनुसार बढुवाको पहिलो नम्बरमा प्रदीपकुमार क्षेत्री छन् । त्यसैगरी दास्रो नम्बरमा अंगुर जिसी, तेस्रो नम्बरमा ढकेन्द्र खतिवडा छन् । त्यसैगरी क्रमशः यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निन्जन दत्त भट्ट, राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराम शर्मा, विनोद घिमिरे बढुवाको प्रतिस्पर्धामा छन् । घिमिरे प्रचण्डको पूर्व पीएसओ समेत हुन् ।
अघिल्लो पटक आफूलाई बढुवामा छुटाइएको भन्दै अहिले जसरी पनि बढुवा हुनुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डमार्फत् उनले दबाब दिएको बताइन्छ । उनीहरु सबै जना २०७२ भदौमा डीएसपी बनेका थिए ।
यही ब्याचका, तर २०७२ भदौमा छुटेर पछिल्लो लटमा डीएसपी बनेकाहरु पनि अहिले बढुवाको प्रतिस्पर्धामा छन् । इन्सपेक्टरको भर्ना एउटै मितिमा भएको, तर बढुवा हुने बेला छुटाइएको भन्दै उनीहरु पनि अहिले नै एसपी बन्न लविइङमा लागेका छन्। यसरी लविइङ गर्नेमा सुमित खड्कादेखि तपन दाहाललगायत छन् ।
डीएसपीबाट एसपी बढुवाको सिफारिस गर्ने समितिमासमेत आईजी अध्यक्ष रहने व्यवस्था छ । राजपत्रांकित द्वितीय श्रेणीको पद एसपीमा बढुवा सिफारिसका लागि बन्ने समितिमा आईजी अध्यक्ष तथा गृह मन्त्रालयको सहसचिव सदस्य र आईजीले तोकेको एआईजी वा डीआईजी सदस्य सचिव रहने व्यवस्था छ । यो समितिले भने शक्तिकेन्द्रमार्फत् पावर एक्सरसाइज भएर बढुवा बिलम्ब भएको भन्दा पनि प्राविधिक तर्फका दुई एसपीको दरबन्दी प्रशासनतर्फ मिलान गरेर बढुवा गर्न लागिएकाले ढिलो भएको दाबी गरेको छ ।
प्राविधिकतर्फका दुई दरबन्दी प्रशासनतर्फ मिलान भए पनि रिक्त एसपीको दरबन्दी ९ मात्रै पुग्छ । जबकी २०७२ भदौमै डीएसपी बनेकाहरुको संख्या अझै १२ छ । ती दरबन्दी मिलान भएको अवस्थामा पनि बढुवा प्रक्रिया पेचिलो नै बन्ने देखिन्छ ।