पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

चन्द्रपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु दुई जना घाइते

२०८० कार्तिक ५, आइतवार ०८:४८ बजे

रौतहट- शनिबार दिउँसो रौतहटको चन्द्रपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु दुई जना घाइते भएका छन्।

घाँस काट्न गएकी बृद्धा चन्द्रपुर नगरपालिका वडा नं ५ स्थित राजपैडा घर भएकी ५५ वर्षीय मनीया धामीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

शनिबार दिउँसो घाँसदाउरा गर्न चाँदी खोला पारी रहेको रामलाल वृन्दावन साझेदारी वनमा गएकी धामीको हात्तीको आक्रमणबाट घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

घाँसदाउरा काट्न भनि सँगै गएका अन्य दुईजना राजपैडा घर भएका ५३ वर्षीय अघनिया देवी चौधरी र ६० वर्षीय पनाबती देवीहरु भने घाइते भएका छन्। जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएकी महिलाको सेना, प्रहरी, जिल्ला वन कार्यालयका कर्मचारी लगायत स्थानीयको सहयोगमा शव खोजेर उद्दार गरिएको छ। 

शवको पोस्टमार्टम गर्न भने जिल्लाको प्रादेशिक अस्पताल गौरमा लगिएको प्रहरी स्रोतले जनाएको छ।