पाठशाला न्यूज
 २०८१ आषाढ २४, सोमवार    

कैलालीको चुरेस्थित भाँसुभीरनजिकै विस्फोट,चार जना घाईते

२०८० फाल्गुण ९, बुधवार २१:२० बजे

धनगढी : कैलालीको चुरेस्थित भाँसुभीरनजिकै विस्फोट हुँदा एकजना चालकसहित ४ जना घाइते भएका छन् । उनीहरूमध्ये २ जना सिकिस्त रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा जेसीबी चालकसहित कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीनदेव अवस्थी रहेका छन् ।
चालकबाहेक घाइते ३ जनाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ । आज (बुधवार) जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुर क्षेत्रमा विस्फोट भएको हो ।
जेसीबीले भीमदत्त राजमार्गअन्तरगत सडक–बाटो मर्मत एवं चौडा गर्ने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।
उनका अनुसार सो विस्फोटक पदार्थ माओवादी काल (सशस्त्र द्वन्द्व) को हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले घटनास्थलको जाँचबुझ र थप अनुसन्धान गरिरहेको जनाएको छ ।