पाठशाला न्यूज
 २०८१ आषाढ १०, सोमवार    

डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घट्यो

२०८० चैत्र ३, शनिवार ०८:५१ बजे

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु एक र डिजेल\मट्टितेलको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ ।
निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ तोकेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ५७ र तेस्रो वर्गका लागि रु एक सय ५८ कायम भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल रहेका छन् ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः रु १.२२ र रु २.०६ ले घटेर आएको निगमले जनाएको छ ।