पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

युगान्डा भ्रमणबाट आज स्वदेश फर्किँदै प्रधानमन्त्री प्रचण्ड

२०८० माघ ७, आइतवार ०८:५९ बजे

काठमाडौं : युगान्डा भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (आइतबार) स्वदेश फर्किँदैछन् । असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड युगाण्डाको काम्पला पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार सम्मेलनलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसङ्घपछिको सबैभन्दा प्रतिनिधि संस्थाका रूपमा नामले स्थायित्व र समृद्धिका लागि न्यायपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । सम्मेलनमा सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको संक्रमणकालीन न्यायका बारेमा पनि चर्चा गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले नेपाल शान्तिप्रिय देश भएकाले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा उल्लेख गरे। प्रधानमन्त्री प्रचण्डले युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी रहेको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असर र त्यसले नेपालसहित हिमाली मुलुकमा पारिरहेको प्रभावका बारेमा पनि चर्चा गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान २ः४५ बजे कतार एयरवेजबाट दोहा पुगेका थिए । दोहाबाट नेपाल फर्किन लागेका उनी आइतबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।
प्रधानमन्त्री प्रचण्डसँगै परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायतको टोलीका सदस्यहरू छन् ।