पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

पृथ्वीको तापक्रम थप वृद्धि हुने चेतावनी

२०८० चैत्र ७, बुधवार ०७:३० बजे

एजेन्सी : राष्ट्रसंघले सन् २०२४ मा पृथ्वीको तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ ।
राष्ट्रसंघको विश्व मौसम विज्ञान संठन (डब्ल्यूएमओ) को प्रारम्भिक प्रतिवेदनमा प्रतिक्रिया दिँदै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पृथ्वी संकटमा रहेको बताए । ‘पृथ्वी संकटमा छ, जीवाश्म इन्धन प्रदूषणले जलवायु अराजतकता निम्त्याउँदैछ । यसले गर्दा द्रुत गतिमा परिवर्तन भइरहेको छ’, भिडियोमार्फत उनले चेतावनी दिए ।
डब्ल्यूएमओका अनुसार गत वर्षको औसत तापमान १.४५ डिग्री सेल्सियस थियो । हामी पेरिस सम्झौताको १.५डिग्री सेल्सियसको यति नजिक कहिल्यै थिएनौँ । २०२३ ले प्रत्येक जलवायु सूचकका लागि नयाँ रेकर्ड बनायो’,डब्ल्यूएमओ प्रमुख सेलेस्टे साउलोले भने, ‘हामीले २०२३ मा विशेषगरी अभूतपूर्व समुद्रको तातोपन र समुद्री बरफको कमीको अनुभूति गयौं। यो नै समस्याको विशेष कारण हो ।’
डब्ल्यूएमओको केन्द्रीय कार्यालय रहेको स्विट्जरल्याण्डले विगत दुई वर्षमा आफ्नो अल्पाइन हिमनदीको १० प्रतिशत मात्रा गुमाएको छ । अन्टार्कटिक समुद्रमा पनि बरफको मात्रा सबैभन्दा कम रेकर्ड भएको थियो ।
जलवायु परिवर्तनले बाढी, पहिरो, जैविक विविधतामा क्षति, खाद्य असुरक्षाजस्ता चरम मौसमी समस्या निम्तिरहेका छन् । विश्वभर खाद्य असुरक्षित मानिसको सङ्ख्या दोब्बरले बढ्दै गइरहेको छ, यो सङ्ख्या कोभिड–१९ अघि १४ करोड १९ लाख थियो भने सन् २०२३ को अन्त्यमा ३३ करोड ३० लाख पुगेको डब्ल्यूएमओले जनाएको छ ।
डब्ल्युएमओले बढ्दै गरेको नवीकरणीय ऊर्जा उत्पादनलाई भने आशाको किरणका रूपमा प्रस्तुत गरेको छ । सन् २०२२ को तुलनामा गत वर्ष नवीकरणीय ऊर्जा उत्पादन क्षमता– विशेषतः सौर्य, वायु र जलविद्युतमा ५० प्रतिशतले वृद्धि भएको थियो ।
‘अझै पनि संटबाट बच्न सक्ने समय रहेको महासचिव गुटेरेसले बताए । ‘हामीसँग अझै पनि पृथ्वीको तापक्रम वृद्धि १.५ सेल्सियसभन्दा कम राख्ने र जलवायु परिवर्तनको समस्याबाट बच्ने समय छ’, उनले भने ।