पाठशाला न्यूज
 २०८१ बैशाख १५, शनिबार    

मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटर भारतको तामिलनाडुबाट पक्राउ

२०८० फाल्गुन १, मंगलबार २१:४१ बजे

जलेश्वर सर्राफ 

राैतहट- रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तामिलनाडु बाट पक्राउ गरिएको छ।

मेयर शम्भु साहकाे हत्या गर्न भारतको कुख्यात अपराधी चंचल पाण्डे लाई सुपारी दिइएको प्रहरीको अनुसन्धानबाट खुलेपछि सुपारी लिने सुटरलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो।

बाराको कलैयामा रहेको बाल एकता इंग्लिस बाेर्डिङ्ग स्कूलका संचालक तथा प्रिन्सिपल रुपेश सर्राफको हत्या काण्डमा पक्राउ परेका भारतीय सुटर सुजित सिंहले दिएको बयानका क्रममा गाैरका मेयर साहको हत्या गर्न चंचल पाण्डेले सुपारी लिएको प्रहरीलाई बताएका थिए।

रुपेश सरार्फ हत्याकाण्डमा मनोज गुप्ता, अरुण यादव तथा सुजित सिंह लगायतका कुख्यात अपराधीहरू पहिले नै पक्राउ परिसकेको र हत्याको मुख्य अभियुक्त चंचल पाण्डे रहेको अनुसन्धान पछि खुलेको र प्रहरीले पाण्डेको खोजी तदारुकताका साथ गर्न थालिएपछी अपराधी भारतको तामिलनाडुमा लुकेर बसेको एक अनुसन्धान पछि जानकारी आएको थियो।

रुपेश सरार्फ हत्याकाण्डमा पक्राउ परेका सिंहले मेयर साहको हत्या गर्न ३६ लाख ने.रु.मा ‘डिल’ भएको र पाण्डेले आधा रकम लिइसकेको अनुसन्धानको क्रममा खुलासा भएको थिए।

रुपेश हत्याकाण्डमा पक्राउ परेका सिंहपछि प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका पाण्डे भारतको तमिलनाडुमा लुकेर बसेको जानकारीपछि नेपाल प्रहरी र तमिलनाडु प्रहरीले संयुक्त अपरेसन थालेर पक्राउ गरेको थियो। संयुक्त अपरेसनमा पक्राउ परेका पाण्डेलाई नेपाल ल्याएर थप अनुसन्धान थालिने बताइएको छ।

गौर नगरपालिकाकाे मेयरमा निर्वाचित भएपछि झन लोकप्रिय बनेका शम्भु साहको हत्या गराउन पाण्डेलाई कसले र किन रकम उपलब्ध गराएको हो भन्ने खुलिसकेकाे छैन ।

प्रहरीले मेयर साहको हत्याको योजना बनाउने तथा हत्या गर्न रकम डिल गरी १८ लाख रुपैयाँ अपराधीलाई समेत बुझाउने व्यक्ति वा गिरोहमा को-को छन भने केही दिनमै भन्डाफोर हुने बताईएकाे छ।

यसबारे गाैरका मेयर साहले आफू अलिकति पनि विचलित नभएको र प्रहरीले आफ्नो काम गरिरहेको प्रतिक्रिया दिए।