पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

चुरेलाई व्यापार बनाउँदा पानीकाे चरम समस्या

२०८० फाल्गुन १८, शुक्रबार १६:१९ बजे

महोत्तरी- चुरे दोहनले भूमिगत पानीमा समस्या बन्दै गएको भन्दै अभियान्ताहरुले चुरे क्षेत्रमा स्थलगत अन्तरक्रिया गरेका छन् । अनियन्त्रित दोहनले चुरेको दक्षिणी क्षेत्रमा बसोबास गर्ने मानिसहरुले पानीको चरम समस्या भोगिरहेको र निकट दिनमा थप समस्याबाट प्रताडित बन्नुपर्ने विषयलाई ध्यानाकर्षण गराउने उद्देश्यले चुरेमा अभियान्ताहरुले कार्यक्रम गरेका हुन् ।

महोत्तरीको उत्तरी क्षेत्र रातु नदीको तटिय क्षेत्रमा भएको कार्यक्रममा चुरे नै तराईको पानीको भण्डार भएको र यसकाे रक्षाका लागी पहिले त चुरे क्षेत्रका मानिस सचेत हुनुपर्ने सहभागीहरुले बताए ।

चुरे अभियान्ता सुनिल यादवले दिनानुदिन चुरे अतिक्रमण हुँदै जानु दु:खद भएको बताए । पैसा कमाउने उद्देश्यले केही मानिसहले चुरेलाई व्यापार बनाउँदा समस्या सिर्जना हुँदै गएको उनकाे भनाई छ ।

संघीय सरकारलाई ध्यानाकर्षण गराउन यसअघि उनले चुरे संरक्षणको लागि ११ दिन लगाएर काठमाडाैँसम्म पैदलयात्रासमेत गरेका थिए ।

बर्दिवास नगरपालिकाले दक्षिणका जनताको भविष्य बोकेको र यही क्षेत्रमा नै अनियन्त्रित दोहन हुनुले भविष्य संकटाेन्मुख बनिरहेको अभियान्ताहरुको भनाइ छ ।

नदी उत्त्खननका नाममा रातुमा भएको उत्त्खननलाई लिएर पनि अभियन्ताहरुले चिन्ता व्यक्त गरेका छन् । अहिले रातु नदीमा मापदण्डविपरीत उत्खनन भइरहेको र यसलाई रोक्न सबजना एकजुट हुनुपर्ने प्रकृति एवं नदी संरक्षण अधिकार मञ्च महोत्तरीका अध्यक्ष निरोज अधिकारीले बताए ।

भूमिगत पानीमा समस्या मात्र हैन किसानहरु समेत विस्थापित बन्नुपर्ने अवस्था सिर्जना भएकोप्रति अधिकारीको भनाइमा सहमत जनाउँदै बर्दिवासका स्थानीय समाजसेवी शंकर फुयाँलले खोला उत्त्खनन पनि मुख्य समस्या रहेको औँल्याए ।