पाठशाला न्यूज
 २०८१ जेष्ठ ८, मङ्गलवार    

सिर्सिया नदी प्रदूषण गर्ने उद्योगलाई सिलबन्दी गर्ने महानगरको निणर्य

२०८० आश्विन २९, सोमवार २०:४० बजे

वीरगन्ज : तिहार तथा छठ पर्वअगाडि नै वीरगन्जको सिर्सिया नदी प्रदूषण नरोकिए उद्योगलाई सिलबन्दी गर्ने वीरगन्ज महानगरपालिकाले निर्णय गरेको छ ।
महानगरपालिकामा सोमबार उद्योगी, प्रशासन र प्रहरीका प्रतिनिधिबीच बसेको बैठकले उद्योगबाट निस्कने रसायनयुक्त लेदो प्रशोधनपछि मात्रै नदीमा पठाउने निर्णय भएको हो ।
प्रशोधन नगरी रसायनयुक्त लेदो तथा फोहोर नदीमा मिसाउने उद्योगलाई सिलबन्दी गरी नियमबमोजिम कारबाही अगाडि बढाउने निर्णय भएको वीरगन्जका मेयर राजेशमान सिंहले जनाए ।
बैठकले वीरगन्ज महानगरभित्र सञ्चालित उद्योगहरूले ६\६ महिनामा स्वअनुगमन मूल्यांकन प्रतिवेदन महानगरमा बुझाउनुपर्ने निर्णयसमेत गरेको छ । यसअघि सोमबार बिहानै महानगर प्रमुख सिंह नेतृत्वको टोलीले सिर्सिया नदीलाई प्रदूषित बनाउने मुख्य ६ वटा उद्योगको स्थलगत अनुगमन गरेको थियो । उद्योगका सञ्चालकलाई नदीमा प्रदूषण रोक्न निर्देशन दिइएको थियो ।

सिर्सिया नदीमा प्रदूषण नरोकिए महानगरले वातावरण संरक्षण ऐन २०७७ तथा वातावरण नियमावलीबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको प्रमुख सिंहले जनाए । ‘वीरगन्जकै लाइफलाइनका रूपमा रहेको नदीलाई उद्योगीहरूले प्रदूषित गरेका छन्,’ मेयर सिंहले भने, ‘अब प्रदूषण गरेको भेटिएमा तत्काल कारबाही गर्नेगरी संयन्त्र तयार पार्दैछौँ ।’ बैठकमा उपस्थित उद्योगका सञ्चालकले उद्योगबाट निस्कने फोहार पानी प्रशोधन गरेर मात्र नदीमा मिसाउन तयार रहेको प्रतिबद्धता जनाएका थिए । उद्योगीहरूले उद्योगमा पानी प्रशोधन केन्द्र स्थापना गर्ने र बोरिङबाट सफा पानी नदीमा पठाउने व्यवस्था मिलाउन तयार रहेको बताए । उक्त बैठकमा अरनिको प्रोसेसिङ उद्योगका सोचन यादव, ग्लोबल लेदरका सरोज चौरसिया, सिद्धि टेक्सटायल्स र न्यु पशुपति इन्डस्ट्रिजका अशोक मित्तल, मरियम लेदरका बालमुकुन्द चौधरी, पाना पेपर्स वकर्सका सुभाष पटेललगायतको उपस्थिति रहेको थियो । यसअघि महानगरपालिकाले सिर्सिया नदीलाई प्रदूषित पार्ने ५ वटा उद्योगलाई ३\३ लाख रुपैयाँ जरिवानासमेत तिराएको थियो ।