पाठशाला न्यूज
 २०८१ वैशाख ३०, आइतवार    

ललितपुरमा ‘ग्याङ फाइट’, दुई जनाको मृत्यु

२०८० चैत्र १२, सोमवार ०८:२९ बजे

काठमाडौं : ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय पूजन राई र रोबस राई छन् ।
ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा दुई पक्षबीच आइतबार राति झडप भएको थियो । झडपका क्रममा छुरा प्रहार हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । राति करिब ११ बजे घाइते भएका दुवैजनालाई अस्पताल लगेपछि मात्रै प्रहरीले खबर पाएको थियो । खबरपछि प्रहरीले राति नै १८ जनालाई पक्राउ गरेको छ ।
छुरा प्रहारबाट एक जनाको तिघ्रा र एकजनाको छातीमा चोट देखिएको प्रहरीले जनाएको छ । प्रहरीले राति नै सीसीटीभी फुटेज हेरेर संलग्न व्यक्तिहरूको खोजी गरेको थियो ।
उनीहरूबीच के विषयमा झडप भएको भन्ने अहिलेसम्म खुल्न नसकेको र नियन्त्रणमा लिइएका व्यक्तिहरूसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।
मृतक पूजन पाँचथर घर भई खुमलटार बस्ने र रोबस धरान घर भई ढोलाइटी बस्दै आएको प्रहरीले जनाएको छ ।
रोबसको शव पाटन अस्पतालमा राखिएको छ भने पूजनको शव सुमेरु अस्पतालमा छ । पोस्टमर्टममा लागि पूजनको शव पनि पाटन अस्पताल नै लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।