पाठशाला न्यूज
 २०८१ आषाढ २१, शुक्रवार    

भारतबाट हिउँदमा १५ अर्बको विद्युत् आयात

२०८१ जेष्ठ १८, शुक्रवार ११:३८ बजे

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न रु १५ अर्ब २१ करोडको विद्युत् भारतबाट आयात गरेको छ। सुक्खायाम सुरु भएसँग खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत्गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न भारतबाट आयात गरिएको हो। यस अवधिमा एक अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको प्राधिकरणले जनाएको छ।

गत वर्षको जेठदेखि यस वर्षको हालसम्म रु १५ अर्ब ६२ करोड बराबरको विद्युत् प्राधिकरणले भारतर्फ निर्यात गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि हालसम्म रु १३ अर्ब ४७ करोडको विद्युत् निर्यात गरिएको छ। प्राधिकरणले चालु आवमा निर्यातभन्दा रु एक अर्ब ७४ करोडको बढी विद्युत् आयात गरेको हो। यस अवधिमा एक अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको हो। आयात गरिएको विद्युत्को मूल्य निर्यात गरिएकोभन्दा सस्तो रहेको छ। निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत मूल्य नौ रुपैयाँ दुई पैसा रहेको छ भने आयातको प्रतियुनिट औसत मूल्य आठ रुपैयाँ ३८ पैसा रहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जेठको बाँकी समय र असारमा निर्यात हुने विद्युत् परिणामबाट चालू आवमा आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था देखिएको बताए। ‘केही वर्षअघिसम्म विद्युत्को आयातकर्ताको मात्र अवस्था थियो। पछिल्ला तीन वर्षदेखि भने विद्युत्को निर्यात सुरु गरेता पनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो भने यस वर्षबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था देखिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘चालु आवमा निर्यातभन्दा आयात रु एक अर्ब ७४ करोडले बढी देखिएको छ।’