पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

भारतबाट गाडी चोरी नेपालमा नक्कली कागजपत्र बनाइ बेच्ने गिरोहको ७ जना पक्राउ

२०८० पौष २९, आईतबार २१:३० बजे

जनकपुरधाम– धनुषा प्रहरीले नक्कली कागजात तयार पारेर गाडी बेच्ने गिरोहका सात जनालाई पक्राउ गरेको छ ।
भारतीय चोरीको गाडी नेपाल ल्याएर नक्कली कागजात तयार गरी बेच्ने गिरोहलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो । उक्त गिरोहबाट चार वटा कार पनि बरामद गरिएको छ ।
पक्राउ पर्नेहरुमा महोत्तरीको जलेश्वर नगरपालिका–३ का ५० वर्षीय मोख्तार अनसारी, लोहरपट्टी नगरपालिका–६ का ४० वर्षीय जमजम भन्ने अन्सारूल कवारी, सोही नगरपालिका–४ का ३७ वर्षीय अजिम राईन, मनरासिसवा–६ का ३२ वर्षीय रोशन कुमार ठाकुर, जनकपुरधाम–२३ का ३४ वर्षीय अविद नदाफ, लोहरपट्टी नगरपालिका–६ का २८ वर्षीय मोबारक अली र धनुषाधाम नगरपालिका–३ का २८ वर्षीय पंकज शर्मा पक्राउ परेका छन् ।
उनीहरुबाट प्रहरीले प्रदेश–२–०३–००१ च. ११४० (सेतो क्रिएटा), प्रदेश–२–०३–००१ च ०११० (सेतो भिटारा ब्रेजा), प्रदेश–२–०३–००१ च ५४८७ (सिलभर भिटारा ब्रेजा) र प्रदेश–२–०३–००१ च ३७३९ (सेतो स्कार्पियो) गरी चार वटा गाडी बरामद गरेको छ ।
मोख्तार अन्सारी भारतीय व्यक्तिहरुसँग सम्पर्क गरी गाडीको डिल गर्ने र नेपाली नम्वर प्लेट र ब्लुबुकको व्यवस्था मिलाउने गरेका थिए । उनले ह्रालसम्म ८ वटा गाडी नेपालमा ल्याएको वयान दिएका छन् । अन्सारूल कवारीले मोख्तार अन्सारीसँग सम्पर्क गरी भारतीय नम्वर प्लेटको गाडी खरिद गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनले प्रदेश–२–०३–००१ च ५४८७ नम्वरको गाडी अजिम राईनलाई वेचेका थिए । यसैगरी प्रदेश २–०३–००१ च ०११० नम्वरको गाडी नौसाद शेखलाई र प्रदेश–२–०३–००१ च. ११४० नम्वरको गाडी रोशन कुमार ठाकुरलाई वेचेको स्वीकारेका छन् । अजिम राईनले अंसारूल कवारीसंग प्रदेश–२–०३–००१ च ५४८७ नम्वरको गाडी १२ लाखमा खरिद गरेको प्रहरी समक्ष वयान दिएका छन् । आरके ट्राभल्सका सञ्चालक रहेका रोशन कुमार ठाकुर पनि प्रहरी हिरासतमा छन् । उनले अन्सारूल कवारीसँग प्रदेश–२–०३–००१ च. ११४० नम्वरको गाडी १५ लाखमा खरिद गरेको बताएका छन् ।
अविद नदाफ गाडी ड्राईभर हुन् । लोहरपट्टीका अख्तर नदाफको नातामा भिनाजु पर्नेसँग प्रदेश–२–०३–००१ च ३७३९ नम्वरको स्कार्पियो गाडी भाडामा चलाउनको लागि ल्याएको उनको भनाई रहेको छ ।
पक्राउ परेका मोबारक अली विमा कम्पन्नीमा काम गर्ने कर्मचारी हुन् । साथी पर्ने नौसाद नजिरको गाडी प्रदेश २–०३–००१ च ०११० नम्वरको उनले ७÷८ महिनादेखि राखेको वयानमा भनेका छन् । नौसाद नजिर भने विदेश गइसकेका छन् । यस्तै पंकज शर्मा गाडी पनि चालक हुन् । उनले प्रदेश २–०३–००१ च ०११० नम्वरको गाडी मोवारक अलीसँग भाडामा चलाउन लिएको वयान दिएका छन् ।
भन्सार चोरी निकासीका गाडीबाट भारतबाट ल्याएर नक्कली नम्बर राखेर चढिरहेको सूचनाको आधारमा उक्त गाडीहरु बरामद गरिएको र अनुसन्धान गर्दा नक्कली नम्बर र कागज बनाएको प्रहरीले जनाएको छ ।
जनकपुर यातायातमा कुनै पनि रेकर्ड फेला नपरेका उक्त गाडीहरुको नक्कली सवारीधनी किताब बनाई विक्रि गरेको देखिएको कुरा प्रहरीले जनाएको छ ।
तर उक्त गाडीका उल्लेखित नम्बरहरु यातायात व्यवस्था कार्यालय नारायणी वीरगञ्जमा माईक्रो बस र पिकअप गाडीको नाममा रहेको र गाडी धनीहरु पनि अर्कै व्यक्तिहरु रहेको देखिएको छ ।