पाठशाला न्यूज
 २०८१ बैशाख २०, बिहीबार    

रौतहटमा तीन घर जलेर खरानी हुँदा सात लाखको क्षति

२०८० फाल्गुन ३०, बुधबार २१:०९ बजे

रौतहट- रौतहटको पूर्विभेग राजदेवी नगरपालिकामा बुधबार साँझ भएको आगलागीबाट तीन घर जलेर नष्ट भएका छन्।

राजदेवी-७ मुडवलवामा भएको आगलागीमा परी तीन घर जलेर नष्ट भएका हुन्। आगलागीबाट स्थानीय कैलाश राउत बरई, शत्रुधन साह र हृदय साहको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो।

आगलागीमा घरमा रहेको अन्न, लत्ताकपडालगायतका लाखौंको सरसमान जलेर नष्ट भएको छ। आगलागीबाट मानवीय क्षति भएको छैन। 

जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले आगलागीबाट तीनै जनाको घरको सरसामान गरी कुल सात लाख बराबरको क्षती भएको अनुमान गरिएको बताइन्।

स्थानीय,शसस्त्र प्रहरी मिलेर गौर नगरपालिकाबाट गएको बारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रवक्ता गिरीले जानकारी दिएकी छन्।

यसैबीच नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाका सभापती राजकिशोर यादवसहित पदाधिकारी आगलागी पीडितको घरमा पुगेर बिभिन्न सरसामान, भाडा वर्तन तथा खानेकुरा त्रिपाल सहयोग गरेको छ।