पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

प्रि–मनसुन सक्रिय, तराईको तापक्रम घट्यो, पहाडमा वर्षा हुने

२०८१ वैशाख २२, शनिवार ०६:३८ बजे

काठमाडौं : प्रि–मनसुन गतिविधि केही सक्रिय हुँदा आजबाट वर्षाको सम्भावना केही बढेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहको प्रणालीमा पश्चिमी वायु थप सक्रिय हुँदा आजबाट केही दिन बदली बढ्ने र वर्षाको पनि सम्भावना रहेको हो ।
“पश्चिमी वायु केही सक्रिय हुँदा आजबाट गण्डकी प्रदेशदेखि सुदूरपश्चिम प्रदेशसम्म पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । विशेषगरी पहाडी क्षेत्रमा वर्षा हुनेछ,” मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, “तर ठूलो वर्षा हुने होइन । सामान्य वर्षा हुने हो । कतिपय ठाउँमा छिटपुट वर्षा मात्र हुनेछ ।”
कोसी प्रदेशमा भने वेष्ट बंगालबाट आएको प्रणालीले पहाडी भू–भागमा बदली र वर्षा गराउने सम्भावना रहेको उनको भनाइ छ । तर त्यहाँ पनि सामन्य वर्षा मात्र हुनेछ । वेष्ट बंगालबाट आएको प्रणालीको कोसी प्रदेशको पहाडी भू–भागमा मात्रै प्रभाव रहने उनी स्पष्ट पार्छिन् । त्यो प्रणाली अरु प्रदेशसम्म फैलिने छैन ।
अहिलेको प्रणालीमा हुने बदली ‘हाई क्लाउडी’ अर्थात् वायुमण्डलको निकै माथि बादल जम्मा भएर बदली हुने भएकाले यसले वर्षा गराउने सम्भावना भने निकै कम हुने मौसमविद् मानन्धरको भनाइ छ । उनका अनुसार मेघगर्जन र गड्याङगुडुङ भए पनि वर्षा हुने सम्भावना भने न्यून हुन्छ । “हाई क्लाउडी हुँदा बिहानैदेखि बदली भए पनि वर्षा हुँदा पनि अपराह्नपछि मात्रै हुन्छ । मेघगर्जनसहित सामान्य वर्षा भए पनि त्यो दिउँसो वा अपराह्नपछि मात्रै हुन्छ,” उनी भन्छिन्, “अहिले विकास भएको प्रणाली यस्तै हो, त्यसैले वर्षा भए पनि ठूलो हुने सम्भावना छैन ।”
यो प्रणाली सक्रिय भएर बदली भए पनि तराईका भू–भागमा भने वर्षाको सम्भावना छैन । यद्यपि, बदली हुँदा तराई क्षेत्रको तापक्रम भने घट्न सुरु भइसकेको छ । “बदलीले गर्दा तराई क्षेत्रमा केही हप्तायता बढेको तापक्रम केही कम भने भएको छ । दुई–तीन डिग्री तापक्रम कम भइसकेको छ,” मौसमविद् मानन्धरले भनिन् । उनका अनुसार यो प्रणाली करिब यो हप्ताभर नै रहनेछ । जसका कारण तापक्रम धेरै बढ्ने छैन ।
काठमाडौंमा पनि ‘हाइ क्लाउडी’ रहेकाले आज बिहानैदेखि बदली भए पनि वर्षाको सम्भावना भने न्यून रहेको उनको भनाइ छ । “वर्षाको सम्भावना नै नरहेको त होइन काठमाडौंमा तर हाइ क्लाउडी भएकाले दिउँसो वा अपराह्नपछि मेघगर्जनसहित छिटपुट वर्षा हुने सम्भावना पनि छ,” मौसमविद् मानन्धरले भनिन्, “तर मेघगर्जनमात्र भएर वर्षा नहुने सम्भावना पनि उत्तिकै छ ।”
यसैबीच, आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुनेछट । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।