प्रेमचन्द्र झा
रौतहट- नेकपा एकीकृत समाजवादीले राैतहटलाई बाढी सङ्कट ग्रस्त जिल्ला घोषणा नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
प्रधानमन्त्रीलाई राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत मंगलवार बुझाएको ज्ञापन पत्रमा साे कुरा उल्लेख छ ।

नेकपा एसका जिल्ला अध्यक्ष कमल राय यादवले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्र अनुसार मिति २०८१I०६I१०, ११ र १२ गतेको अविरल वर्षाको कारण मिति २०८१I०६I१३ गते रौतहट जिल्लाको अधिकांश भागमा भिषण बाढीको प्रभाव परेको थियो । सो वाढीमा जिल्लाको पूर्वमा रहेको वागमती नदीको लक्षमीपुर–३ धर्मपुरको ६ र ७ स्थान, माधोपुरको २ स्थान, पिप्रा रजवाडा र राजदेवीको बाँध वाढीले कटान गरेको, त्यसै गरी जिल्लाको मध्य भागमा रहेको लाल वकैया नदीको झौवा, हर्षाहा, माधोपुर, बौधीमाई, इनर्वा तेजापाकड बैरियामा बाँध वाढीले कटान गरेको कारण अधिकांश, जिल्ला वासी पिडित भई किसानको हजारौं बिघा जग्गामा तयारी अवस्थाको धान वाली पूर्ण रुपमा नष्ट भएका छनम। साथै दशैं तिहारको लागि भण्डारण गरिएको व्यापारिक प्रतिष्ठानहरुको सामग्रीहरु नष्ट भएकोले देशको विभिन्न भागमा आएको बाढी पहिरोको अवस्थालाई विश्लेषण गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण काठमाण्डौंले विभिन्न स्थानीय तहलाई बाढी सङ्कटग्रस्त क्षेत्र घोषणा गरी राहतको घोषणा गरेकोमा सो प्राधिकरणले रौतहट जिल्ला वा मधेश प्रदेशकै कुनै पनि स्थानीय तहलाई बाढी सङ्कट ग्रस्त जिल्ला घोषणा नगर्नु भेदभावपूर्ण व्यवहार भएको उल्लेख छ ।
सरकारले रौतहट जिल्ला वासीसँग अन्यायपूर्ण व्यवहार गरेको ठहर छ। रौतहट जिल्लाको गौर नगरपालिका, दुर्गा भगवती, यमुनामाई, राजदेवी, बौधीमाई, ईशनाथ, माधवनारायन, गाढीमाई, गरुडा लगायतका नगरपालिका र गाउँपालिकाहरुमा डुवान लगायत किसानको धानबाली, माछा पोखरी, नगदेवाली व्यापार व्यवसायको समस्याले पर्न गएको असहनीय पिडालाई राज्यबाट सम्बोधन गर्न रौतहट जिल्लालाई अविलम्ब बाढी सङ्कट ग्रस्त जिल्ला घोषणा गर्न माग गरिएको छ । उल्लेखित माग पूरा नगरिए नेपाल सरकार विरुद्ध हिन्दुहरुको महान पर्व वडा दशैंको समापन पश्चात चरणवद्ध आन्दोलन प्रारम्भ गर्ने ज्ञापन–पत्रमा लेखिएको छ ।
सो अवसरमा मधेस प्रदेसका सांसद कनिस पटेल,गाैरका नगर प्रमुख शम्भु साह,राजदेवीका नगर प्रमुख भिखारी यादव , बाैधीमाई नगर प्रमुख प्रदिप कुमार यादव, नेकपा एसका नेता रेवन्त झा, अनिल लाल दास , जयरानी देवी सहनी ,सहितका उपस्थिति रहेकोे थियो ।