पाठशाला न्यूज
 २०८१ आषाढ २०, बिहीवार    

स्रोत नखुलेको रकमसहित पक्राउ परेका भारतीय युवक गौर भन्सारबाटै फरार

२०८१ आषाढ ७, शुक्रवार १०:३३ बजे

रौतहट- सशस्त्र प्रहरीको चरम लापारवाहीका कारण स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक जना भारतीय नागरिक गौर भन्सार कार्यालयबाटै बेपत्ता भएकाछन् । सशस्त्र प्रहरीले ती भारतीय युवकलाई स्रोत नखुलेको रकम सहित बिहिबार पक्राउ गरेको थियो । 

उनलाई रकम सहित गौर भन्सारमा बुझाउने क्रममा पिसाव फेर्ने बाहानामा भन्सार कार्यालयको पश्चिम गेट हुदै भारत तर्फ भागेका थिए । सशस्त्र प्रहरी बल रौतहटले भने बिहिबार साँझ आफुहरुलाई छक्याएर फरार भएका दाबी गरेको छ ।  सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँसहित भारतीय नागरिक ३१ वर्षका गजेन्द्र रायलाई पक्राउ गरेको थियो । सशस्त्र प्रहरी बल नेवाल बोर्डर आउट पोस्ट सरमुजवाले बौधिमाई नगरपालिका–७ बंकुलस्थित भन्सार गेटबाट मोटरसाइकलसहित उनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका रायलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गौरमा बुझाउने क्रममा राय सशस्त्र प्रहरीको नियन्त्रणबाट फुत्किएका थिए । भन्सार कर्मचारी र सशस्त्र प्रहरीको लापारवाहीका कारण भारतीय नागरिक गजेन्द्र भाग्न सफल भएका बताइएको छ । 

उनले प्रयोग गरेको मोटरसाइकलसहित सशस्त्र प्रहरीले भन्सार कार्यालयमा बुझाउने बेला रायले शौचालय जाने समय मागेका थिए । त्यसै क्रममा उनी फरार भएका सशस्त्र प्रहरी बल स्रोतले बताएको छ । यो घटनाबारे सशस्त्र प्रहरी बलको ११ नम्बर गणले कुनै प्रतिक्रिया दिन मानेको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले घटनाबारे थाहा नभएको प्रतिक्रिया दिए । 

फरार भएका गजेन्द्र हुण्डी कारोवारीका भरिया भएको अनुमान गरिएको छ । रौतहटको बिभिन्न नाका भएर भरिया मार्फत सिमामा तैनाथ सशस्त्र प्रहरी र जनपथ प्रहरीको मिलेमतोमा हुण्डी कारोवारीले पैसा नेपाल भित्राउने गरेको समाचारस्रोतको दावी रहेको छ ।