पाठशाला न्यूज
 २०८१ बैशाख २७, बिहीबार    

उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने लामा पक्राउ परे

२०८० चैत्र १३, मंगलबार २२:४२ बजे

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने रविन लामा आज काठमाडौंस्थित टोखाबाट पक्राउ परेका छन्। 

२०७७ असोज २० गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको केसमा गत मंसिर ७ गते काठमाडौं जिल्ला अदालतले उनीसहित ६ जनालाई दोषी ठहर गरेको थियो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले उनीहरूलाई जनही २ वर्षको कैद सजायको फैसला सुनाएको थियो। त्यस्तै, पीडित चलाउनेको उपचारमा लागेको खर्चबापत २८ लाख १७ हजार ५९३ रुपैयाँ क्षतिपूर्तिसमेत भराउन पनि भनिएको थियो।

जिल्लाको आदेशविरुद्ध अन्य प्रतिवादीहरू पुनरावेदनमा गएतापनि लामा भने पुनरावेदनमा नगएकाले उनलाई पक्राउ गरिएको हो।

अनुसन्धानकै क्रममा लामाविरुद्ध ०७८ वैशाख १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो। तर, उनी त्यतिबेलादेखि नै फरार थिए।

०७७ कार्तिक २० गते उपप्राध्यापक चलाउनेले काठमाडौं जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा उक्त मुद्दा दर्ता गराएका थिए। तर अदालतले कुटपिट र अंगभंगमा दोषी ठहर गरेको थियो।