पाठशाला न्यूज
 २०८१ जेष्ठ ३, बिहीवार    

ललिता निवास प्रकरणः थुनछेक बहस अन्तिमतिर

२०८० भाद्र २४, आइतवार १४:४० बजे

काठमाडौं–ललिता निवासको जग्गा हिनामिना प्रकरणको थुनछेक बहस अन्तिमतिर पुगेको छ । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार आज (आइतबार) एक जना प्रतिवादीको बहस हुनेछ । त्यसपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।
सरकारी वकिलले जवाफी बहस सके सम्भवतः आइतबार नै थुनछेक आदेश आउने दाहालले बताए । ‘सरकारी वकिलको बहस आजै सकियो भने आजै थुनछेक आदेश आउँछ, नभए भोलि पुग्ला,’ दाहालले भने । यसअघि शुक्रबार नै प्रहरी हिरासतमा रहेका १८ मध्ये १७ प्रतिवादीका तर्फबाट कानुन व्यवसायीले बहस सकेका थिए ।
तत्कालीन समरजङ्ग कम्पनीका कार्यालय प्रमुख लोकहरि घिमिरेका कानुन व्यवसायीको मात्रै बहस बाँकी थियो । आइतबार घिमिरेका तर्फबाट कानुन व्यवसायीले बहस गरेपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ ।
कसलाई थुनामा राख्ने, कसलाई धरौटीमा छाड्ने र कसलाई साधारण तारिखमा पठाउने भन्ने अदालतको निर्णय नै थुनछेक आदेश हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा बहस चलिरहेको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउँदा सरकारी दस्तखत तथा लिखत किर्ते गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३१० जनाविरुद्ध अभियोजन दर्ता गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० दिन लगाएर संगठित अपराध कसुरमा घटनाको अनुसन्धान गरे पनि सरकारी वकिलले संगठित अपराधको कसुर आकर्षित नहुने भन्दै किर्तेमा मात्रै मुद्दा दर्ता गरेको थियो । २०४९ सालदेखि २०६९ सालसम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो । उक्त प्रहरणमा पूर्वमन्त्री, पूर्वसचिव, बहालवाला सचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यवसायीलगायत विरुद्ध मुद्दा दर्ता भएको छ ।
आरोपीमा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, व्यवसायी मिनबहादुर गुरुङ, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री तथा पूर्वसचिवसमेत छन् ।