पाठशाला न्यूज
 २०८१ बैशाख १९, बुधबार    

नेपाल समूह चरणमा अपराजित रहँदै एसिसि प्रिमियर कपको सेमिफाइनलमामा प्रवेश

२०८१ बैशाख ५, बुधबार १६:११ बजे

मस्कट- नेपाल समूह चरणमा अपराजित रहँदै एसिसि प्रिमियर कपको सेमिफाइनलमामा प्रवेश गरेको छ ।

नेपालले आज समूह चरणको अन्तिम खेलमा साउदी अरबलाई ६ बिकेटले हराउँदै जित नतिजा निकालेको हो ।

पिच भिजेका कारण ८ ओभरमा घटाइएको खेलमा साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ७.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।

नेपालका लागि गुलशन झा १६ बलमा १ चौका र २ छक्का सहित २८ रन बनाएर अविजित रहे । यस्तै कप्तान रोहित पौडेल ७ बलमा १७ रनमा नटआउट रहे ।

नेपालको जितसँगै हङकङ समूहमा दोस्रो रहँदै अन्तिम चारमा प्रवेश गरेको छ । जित्नै पर्ने खेलमा साउदी अरब पराजित भएका कारण हङकङ समूह उपविजेता रहँदै सेमिफाइनलका लागि छनोट भएको हो ।

हङकङको ४ खेलमा ४ अंक रह्यो । कतारको पनि ४ अंक रहेपनि नेट रनरेटका आधारमा तेस्रो भयो । हङकङको नेट रनरेट -०.१२८८ रहेको छ भने कतारको -०.४५३ रह्यो । साउदी भने २ अंक सहित चौथो स्थानमा सिमित भयो । मलेसिया २ अंकसहित पुछारमा रह्यो ।

मध्यम लक्ष्य पाएपनि नेपालको सुरुवात भने खराब रहेको थियो । नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख सस्तैमा पेभेलियन फर्किएका थिए । कुशल इनिङको दोस्रो बलमा नै इशतियाक अहमदको बलमा थर्ड म्यानमा क्याच आउट भए ।

आशिफ दोस्रो ओभरको दोस्रो बलमा २ रन बनाएर उसमान नजिबको बलमा क्याच आउट नै हुन पुगे । कुशल मल्ल अर्को ओभरमा इशतियाकको बलमा २ रनमा नै बोल्ड आउट भए ।

त्यसपछि गुलशन झा र दीपेन्द्र सिंह ऐरीले केहि बेर इनिङ सम्हालेका थिए । तर ९ बलमा १७ रन बनाएर दीपेन्द्र पाँचौं ओभरको अन्तिम बलमा वाजी उल हसनको बलमा क्याच आउट भए । तर गुलशन र रोहित मिलेर नेपाललाई जित तर्फ डोहोर्याए ।

साउदीका लागि इशतियाक अहमदले २ तथा उस्मान नजिब र वाजी उल हसनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदीले निर्धारित ८ ओभरमा ६ विकेट गुमाउँदै ७३ रन बनायो ।

साउदीका लागि अब्दुल वाहिदले १६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंक पनि छुन सकेनन् । साउदीका काशिफ अब्बासको ८ रन दोस्रो ठूलो स्कोर रहन पुग्यो ।

नेपालका लागि करण केसीले २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । यस्तै अविनाश बोहोराले पनि २ ओभरमा १५ रन खर्चेर २ विकेट नै लिए । ललित राजवंशीले २ ओभर गर्दै २१ रन खर्चेर १ विकेट लिए । प्रतिश जिसीले १ ओभर बलिङ गर्दै १० रन दिएर १ विकेट हात पारे ।