पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

मेयर सिंहको नागरिकता प्रकरण छानबिनको दायरमा नआएकोमा आफु आश्चर्यचकित: गगन थापा

२०८० माघ २०, शनिबार १८:२३ बजे

जलेश्वर सर्राफ 

वीरगंज- वीरगंजकामा एक कार्यक्रममा मेयर राजेशमान सिंहको नागरिकता प्रकरण अहिलेसम्म छानबिनको दायरमा नआएकोमा आफु आश्चर्यचकित भएको गगन थापाले बताएका छन्।

वीरगंजबाट प्रकाशित हुने अन्कुस दैनिक पत्रिकाको रजत महोत्सवको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन दलमा आबद्ध भएकै कारणले वीरगंज महानगरको मेयर राजेशमानले एकजना भट्टराई थर कि युवती रुविनालाई आफ्नो थर श्रेष्ठ राखेर बनाईदिएको चर्चित किर्ते नागरिकता प्रकरणले मूर्तरूप लिन नसकेको जिकिर गरेका छन्। 

वीरगंजका मेयर राजेशमान सिंहको नागरिकता प्रकरण अहिलेसम्म छानबिनको दायरमा नआएकोमा आफु आश्चर्यचकित भएको बताएका गगन थापाले वीरगंजबाट प्रकाशित हुने अङ्कुश दैनिक पत्रिकाको रजत महोत्सव समारोहलाई सम्बोधन गर्दै पछिल्लो समय राज्यले व्यक्ति र पद हेरेर फरक–फरक व्यवहार गरिरहेको नेपालमा भएको विभिन्न घटनाक्रमले देखाइरहेको समेत बताएकाछन् । 

‘एउटा कुनै व्यक्तिले नागरिकतामा किर्ते गर्‍यो भने, त्यो नागरिकता किर्ते गर्ने व्यक्ति कहाँ पुग्छ? भनेर सरकार तथा प्रमुख जिल्ला अधिकारीलाई ईङ्गित गर्दै महामन्त्री थापाले प्रश्न गरेकाछन्।

महामन्त्री कुनै व्यक्ति कुनै एउटा राजनीतिक दलमा छ, पदमा छ भने उसँग कानुनले समेत दोहोरो भुमिका निर्वाह गर्ने वातावरण रहेको छ । अहिलेको बहुचर्चित वीरगंजका मेयर राजेशमानको किर्ते नागरिकता रहेको सम्पूर्ण प्रमाण यथावत रहेतापनी अहिलेसम्म कारबाहीको दायरामा ल्याउन नसक्नु दुर्भाग्यपूर्ण रहेको र झन उसलाई संरक्षण गर्ने समूहले समेत अपराधलाई प्रोत्साहन दिने गरेकोमा चिन्ता समेत व्यक्त गरेका छन्। 

सत्ता गठबन्धनको अवसर उठाएर त्यो राजनीतिक दल अहिले गठबन्धनको दलको बैठकमा बस्ने हैसियत राख्छ भने उसले त्यही कारणले २ वटा नागरिकता बनाउने छुट पाएको छ भने कोहीले जेलबाट समेत छुट पाएर उन्मुक्ति पाएका छन्। ‘यस्तो पनि स्टेट हुन्छ ?’ पूर्वमन्त्री थापाले प्रश्न गरे ।

‘राज्यका लागि त सबै बराबर हुन्छन् नि । त्यसकारण राज्यले जब यस्तो सवालमा गलत गर्छ, त्यसमा प्रश्न गर्ने मिडियाको काम हो । ताकि मैले नक्कली नागरिकता बनाउनेलाई छुट दिएमा मलाई सञ्चारमाध्यमले छोड्दैनन्; यो डर हुनुपर्छ । यो वातावरणको सिर्जना मिडियाले गर्नुपर्छ ।

राजनीतिक, प्रशासनिक सहितका हरेक क्षेत्रमा देखिएका समस्याहरूबारे मिडियाले कलमबाट घच्घच्याइरहनुपर्ने जरुरी रहेको उनको भनाई छ । 

महामन्त्री थापाले राजनीतिक दलले गर्नुपर्ने सुधारका विषयहरूबारे चर्चा गरेका थिए । सबैलाई आ–आफ्नो ठाउँबाट सुधारको प्रयासको थालनी गर्न सकियो भने देशमा व्यापक परिवर्तन हुने उनको जिकिर रहेको थियो ।

कार्यक्रममा सहभागी प्रतिनिधि सभा सदस्य प्रदीप यादवले मिडिया स्वतन्त्र नभएको जिकिर गरेका थिए । मिडिया कुनै दलको हुनुपर्छ भन्ने परिपाटीको अन्त्य हुनुपर्ने उनले सुझाव दिएका थिए।

२५ वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा सांसद अजय चौरसियासहित वरिष्ठ पत्रकार हरिहर विरही, कबीर राणा लगायतले आफ्नो देशको अवस्थाबारे आ–आफ्नो धारणा राखेका थिए।