पाठशाला न्यूज
 २०८१ बैशाख २५, मंगलबार    

सन्दीप लामिछानेको मुद्दामा शुक्रबार पनि बहस हुँदै

२०८० पौष १३, शुक्रबार ०९:०६ बजे

काठमाडौं : काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दामा आज (शुक्रबार) पनि बहस हुँदैछ । बिहीबार सन्दीपका कानुन व्यवसायीको बहस नसकिएपछि हेर्दाहेर्दैमा रहेको मुद्दामा शुक्रबार पनि बहस हुने भएको हो ।
फैसला केन्द्रित सुनुवाइमा रहेको मुद्दामा गत आइतबारदेखि निरन्तर बहस भइरहेको छ । जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासमा आइतबार सरकारी पक्षको बहस भएको थियो । त्यसपछि सोमबार र मंगलबार सार्वजनिक बिदाका कारण अदालत बन्द रह्यो । बुधबार पीडित पक्षका कानुन व्यवसायी र सन्दीपका केही कानुन व्यवसायीले बहस गरेका थिए ।
बिहीबार सन्दीपको प्रतिरक्षामा आधा दर्जन कानुन व्यवसायीले बहस गरेका थिए । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गर्दागर्दै अदालती समय सकिएको थियो ।
शुक्रबार वरिष्ठ अधिवक्ता श्रेष्ठले नै बहसको सुरुवात गर्नेछन् । रमणपछि २ जना कानुन व्यवसायी रामेश्वर न्यौपाने र सरोजकृष्ण घिमिरेले बहस गर्ने तयारी गरेका छन्। सन्दीपका पक्षका कानुन व्यवसायीको बहस सम्भवतः शुक्रबार सकिने छ ।
सन्दीपका कानुन व्यवसायीको बहसपछि सरकारी पक्षले जवाफी बहस गर्नेछन् । जवाफी बहस सकिएपछि मात्रै अदालतले उक्त मुद्दामा निर्णय सुनाउनेछ ।
सन्दीपको मुद्दामा वादी र प्रतिवादी दुवै तर्फका वकिलहरुले आ–आफ्नो बहस नोट यसअघि नै बुझाइसकेका छन् ।
अदालती समय अगावै जवाफी बहस समेत सकिएमा अदालतले शुक्रबार नै निर्णय सुनाउन सक्नेछ । बहस नसकिएको खण्डमा भने मुद्दा पुनः हेर्दाहेर्देमा रहेर अर्को दिनका लागि सर्नेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।