पाठशाला न्यूज
 २०८१ जेष्ठ १, मङ्गलवार    

राष्ट्रिय सभा निर्वाचनः आज मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदै

२०८० पौष २२, आइतवार ०९:२० बजे

काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (आइतबार) मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदै छ । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार आज (पुस २२ गते, आइतबार) अन्तिम मतदाता प्रकाशन हुन लागेको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।
निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली स्वीकृत गरी नामावली समेत प्रकाशन गरेको थियो । पुस २० गते, शुक्रबार प्रकाशित नामावलीमा दाबी विरोधको उजुरी लिइ, उजुरीमाथि छानबिन गरेर आइतबार अन्तिम नामावली प्रकाशन गरिने भएको हो ।
निर्वाचन आयोगले यसअघि स्वीकृत गरेको नामावलीअनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल मतदाता संख्या २ हजार ४७ जना छन् । जसमध्ये प्रदेश सभा सदस्य ५४९ जना छन् । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १ हजार ४९८ जना छन् ।
प्रदेश सभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको हो। यस्तै, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १ हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ जनाको नाम हटाइ कूल १ हजार ४९८ जनाको नामावली स्वीकृत गरिएको थियो ।