पाठशाला न्यूज
 २०८१ आषाढ १६, आइतवार    

सन्दिप लामिछानेको मुद्दाको पेसी आज

२०८१ जेष्ठ १, मङ्गलवार ०७:१० बजे

काठमाडौं- क्रिकेटर सन्दीप लामछानेको मुद्दाको पेसी आजका लागि तोकिएको छ।

काठमाडौं जिल्ला अदालतले सन्दीपले जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो ।

न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए । काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई बालिग ठहर गरेको तथा सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ ।

दुवै मुद्दामा यसअघि नै एकसाथ सुनुवाइ सुरु भइसकेको छ । उच्च अदातलले सन्दीपका विपक्षमा सरकारी वकिलले लिएको दाबीअनुसार आदेश गरेमा उनलाई १२ वर्षभन्दा बढी जेल सजाय हुनेछ । उनले लिएको मागदाबीअनुसार फैसला भएमा भने सन्दीप अभियोगमुक्त हुनेछन् ।

तर, उच्च अदालतले जिल्ला अदालतको फैसला जस्ताको तस्तै सदर गरिदिएमा सन्दीपले आठ वर्ष पुर्पक्षको अवधि कटाएर पूरा समय जेल बस्नुपर्नेछ ।

जिल्ला अदालतको आदेश सदर भएमा सन्दीपले सर्वोच्चमा पुनरावेदन गर्दा समेत थुनामा बसेरै गर्नुपर्नेछ ।

आज तोकिएको पेसी यसअघि गत वैशाख २३ गतेको सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेको थियो ।