पाठशाला न्यूज
 २०८१ जेष्ठ ५, शनिवार    

आजदेखि पशुपतिनाथ मन्दिर आसपास मासु र मदिरा बेचबिखनमा रोक

२०८० फाल्गुण २३, बुधवार ११:२७ बजे

काठमाडौं : महाशिवरात्रि पर्वलाई लक्ष्य गरी पशुपतिनाथ मन्दिर आसपास मासु र मदिरा बेचबिखनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गरी बुधबारदेखि फागुन २७ गतेसम्म गौशाला–मित्रपार्क सडकदेखि पूर्व, पशुपतिनाथ क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला–तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिण भित्रका सबै भागमा मासु र मदिरा बिक्रीमा रोक लगाएको हो ।
पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित बनाइ भव्यरूपमा सम्पन्न गर्न र पाशुपत क्षेत्रभिको सुरक्षालगयात धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्न यस्तो रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । तोकिएका चारकिल्ला भित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी पूर्णरुपमा रोक लगाइएको बस्नेतले बताए । सूचनाको बर्खिलाप हुनेगरी कुनै काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी कार्यालयले दिएको छ । यो वर्ष महाशिवरात्रि पर्व शुक्रबार परेको छ ।