पाठशाला न्यूज
 २०८१ आषाढ २३, आइतवार    

आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना,आइतबारदेखि नयाँ मौसमी प्रणाली भित्रँदै

२०८० माघ १९, शुक्रवार ०८:४८ बजे

काठमाडौं : देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । केही प्रदेशमा हल्लका वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपात हुने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
काठमाडौंमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ । दिउँसो बदली हुने मौसमविद् गोविन्द झाले जानकारी दिए ।
“आज काठमाडौंमा केही समय घाम लाग्ने र बदली हुने हुन्छ,” उनले भने, “काठमाडौंमा बिहान मौसम केही खुल्छ । त्यसपछि पुनः बादलले ढाक्छ । फेरि घाम लाग्छ ।”

बिहीबारजस्तो शुक्रबार दिनभर काठमाडौंमा बदली नहुने उनले स्पष्ट पारे । “हिजो त्यस्तै खालको सिस्टमले काम गर्दा काठमाडौंमा केही वर्षा भयो । तर आज वर्षाको सम्भावना छैन । बदली हुने र घाम लाग्ने दुवै हुनेछ,” मौसमविद् झाले भने ।
उनका अनुसार दिउँसो कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया मौसम बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
कोसी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तापक्रम वृद्धि हुँदा कसरी चिसो बढ्यो ?
विभागले राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज र भोलि बुधबार र बिहीबारको तुलनामा मौसममा केही सुधार हुनेछ । यद्यपि, आइतबारबाट पुनः नेपालमा नयाँ प्रणाली सक्रिय हुँदा वर्षा र हिमपातको सम्भावना बढ्ने मौसमविद् झाले जानकारी दिए । उनका अनुसार आइतबारदेखि पश्चिमी वायु पुनः सक्रिय भएर स्ट्रङ हुँदा देशका धेरै स्थानमा बदली, वर्षा र हिमपात हुनेछ । पश्चिमी वायु सक्रिय भएर स्ट्रङ हुँदा वर्षा हुन्छ ।