पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

श्री राम सुगर मिल्सको लिलामी टेण्डर खारिज गरि उद्योग संचालन गर्न माग सहित प्रर्दशन

२०८० श्रावण २२, सोमवार १८:५६ बजे

दिपु मिश्र
रौतहट– रौतहटको गरुडा नगरपालिका अवस्थित श्री राम सुगर मिल्स लिमिटेडको अनाधिकृत रुपमा गरिएको लिलामी टेण्डर खारिज गरि उद्योग संचालन गर भन्ने माग सहित गौरमा प्रर्दशन गरिएको छ ।
सोमबार उखु उत्पादक संघ रौतहटले लिलाम भएको श्री राम सुगर मिल्स गरुडामै संचालन हुनुपर्ने माग सहित गौरमा प्रर्दशन गरेको हो । रौतहटका कृषकहरुको आयस्रोत र समृद्धि संग जोडिएको श्री रााम सुगर मिल्स लिमिटेडलाई जुनसुकै कम्पनीले लिलाम सकार गरेपनि सो मिल्स गरुडामै संचालन हुनुपर्ने कृषकहरुको माग रहेको नेपाली काँग्रेस रौतहटका नेता दिपक यादवले बताएका छन् ।
केही समय अगाडि नेपाल बैंकले लिलामीमा राखेको श्रीराम सुगर मिल्स लिमिटेडका मेशिनरी उपकरण शिवशक्ति ग्रुपले सकार गरेको हो । गोल्छा र विशाल ग्रुपको लगानी रहेको सो उद्योगका उपकरण शिवशक्ति ग्रुपले रू. ४३ करोड ६० लाखमा सकारेको छ । उद्योगका उपकरण किन्न पाँच कम्पनीले बोलपत्र पेश गरेको नेपाल बैंकले जानकारी दिएको छ ।
न्यूनतम भन्दा बढीको प्रस्ताव गरेर शिवशक्ति ग्रुपले ठेक्का सकार गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले बताए ।


कबुल गरेको सबै रकम भुक्तानी गरेर ३५ दिनभित्र उपकरण लैजान बैंकले कम्पनीलाई सूचित गरेको छ । शिवशक्ति ग्रुप अन्तर्गतको रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेडले श्रीराम सुगर मिल्सको उपकरण किनेको हो । रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिजमा शिवशक्ति ग्रुप सहित त्रिवेणी ग्रुपको समेत लगानी छ । यो उद्योग बारामा छ । श्रीराम सुगर मिल्सका उपकरण अर्को नयाँ मिलमा जडान गरिने शिवशक्ति ग्रुपले बताएको छ ।
नेपाल बैंकका अनुसार श्रीराम सुगर मिल्सले नेपाल बैंकसहित राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोष, हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक (हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंक) समेतबाट विभिन्न शीर्षकमा कर्जा लिएको थियो । तर, कर्जाको रकम लेनदेनसम्बन्धी लिखतमा निर्धारित भाखाभित्र बुझाउनुपर्ने साँवा र त्यसमा लाग्ने ब्याज तथा हर्जनासमेत उक्त उद्योगले बुझाएको छैन ।
उद्योगको १७ करोड रुपैयाँ ऋणको ब्याजसमेत जोड्दा २६ करोड रुपैयाँ पुगेपछि नेपाल बैंकले गत जेठ ३२ गते उपकरण लिलामीका लागि बोलपत्र आह्वान गरेको थियो । बैंकले साउन ४ गतेसम्म लिलाम बढाबढमा बोलपत्र पेश गर्न भनेको थियो । बैंकले न्यूनतम मूल्य ३८ करोड ११ हजार ७५५ रुपैयाँ तोकेर सूचना निकालेको थियो ।
यता २०७६ फागुन १३ मा सार्वजनिक सूचना प्रकाशित गरेर श्रीराम सुगर मिल्सले उद्योग स्थायी रूपमा बन्द भएको घोषणा गरेको थियो । कम्पनीले त्यतिबेला २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ खुद घाटा पुगेको उल्लेख गरेको थियो । लगातार नोक्सानमा गएपछि गोल्छा समूहले श्रीराम सुगर बन्द गरेको हो । उक्त उद्योगमा ९१ प्रतिशत शेयर स्वामित्व संस्थापक लगानीकर्ता गोल्छा परिवार र बाँकी ९ प्रतिशत सर्वसाधारणको छ । २०४९ साउन १३ गते तत्कालीन गोल्छा अर्गनाइजेशनले स्थापना गरेको श्रीराम सुगरकोे नाममा ८० बिगाहा जमीन छ ।
२०७६ फागुन १३ मा सार्वजनिक सूचना प्रकाशित गरेर स्थायी रूपमा उद्योग बन्द भएको घोषणा गरेको श्रीराम सुगर मिल्सका उपकरणहरू नेपाल बैंकले लिलाम गरेको हो ।
यता सो मिल्स गरुडामै संचालन नभए हाम्रो बिरोध प्रदर्शन निरन्तर चलिरहने उखु उत्पादन संघ रौतहटका अध्यक्ष असोक यादवले पाठशाला न्युजलाई जानकारी दिएको छ ।

सो कार्यक्रममा पूर्व राजदूत डा. वंशिधर मिश्र, नेपाली काँग्रेसका जिल्ला सभापति एवं प्रदेश साँसद सुनिलकुमार यादव, प्रदेश साँसद शोभा देवी साह, किशोरी यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, नेकपा एसका नेता वृजकिशोर यादव, सुनिल यादव, रामनारायण यादव, दिपक यादव, रामभरोस यादव, रामचन्द्र गिरी, अनिल यादव, रामेश्वर यादव, युवा नेता राजकुमार दास तत्मा लगायतको सहभागिता रहेको थियो ।