पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

२०८० फाल्गुन १, मंगलबार ०९:१३ बजे

बारा : बारा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित निजगढका दुई जनालाई सोमबार कलैयाबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनीहरुलाई लागूऔषधसहित कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटा चोकबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोल बस्ने २९ वर्षीय हेमबहादुर थापा र सोही ठाउँका आशिष तामाङ रहेका छन् । वीरगञ्जबाट निजगढतर्फ आउँदै गरेको अवस्थामा उनीहरू सवार ना ५६ प ८७७१ नम्बरको पल्सर मोटरसाइकललाई शंका लागि प्रहरीले रोकेर जाँच गरेको थियो ।
सोही क्रममा लुकाइ छिपाइ लैजादै गरेको अवस्थामा लागूऔषध ट्याब्लेट र इन्जेक्सनसहित उनीहरु पक्राउ परेका बाराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विरेन्द्रराज गुरुङले बताए ।

उनीहरूको साथबाट डाइजेपाम ५६ एम्पुल, फेनारगन ५३ एम्पुल, नुरफिन ५३ एम्पुल र ट्रामानिल ५६ पत्ता (६५० पिस) बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बारा प्रहरी बताएको छ ।