पाठशाला न्यूज
 २०८१ आषाढ १८, मङ्गलवार    

कृषिमन्त्री ज्वाला भन्छिन्- रासायनिक मलको अभाव हुँदैन

२०८१ आषाढ ६, बिहीवार २१:३७ बजे

काठमाडौं- कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नहुने बताइकी छिन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै मन्त्री ज्वालाले अहिले ९६ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जानकारी दिदै मलको अभाव नहुने बताएकी हुन् । उनले थप १ लाख ३१ हजार मेट्रिक टन रासायनिक मल असार मसान्तसम्म आयात भइसक्ने जानकारी दिएकी छन् ।

आगामी आर्थिक वर्ष २०८१/०८२ मा रासायनिक मल आपूर्तिका लागि २७ अर्ब ९५ करोड रुपैयाँ विनियोजन गरिएको बताउँदै उनले विनियोजित बजेटबाट नै ६ लाख मेट्रिक टन मल अनुदानमा उपलब्ध गराउन सकिने भएकाले मल आपूर्तिमा समस्या नहुने स्पष्ट गरेकी छन् ।

मन्त्री ज्वलाले आगामी आर्थिक वर्षमा मलको सहज उपलब्धताको लागि २ लाख ५० हजार मेट्रिक टनको टेण्डर आह्वान भइसकेको र सोमध्ये ९० हजार मेट्रिक टनको आपूर्ति सम्झौता पनि भइसकेको बताइन्।