पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

आर्थिक मन्दीका कारण चितवनका एक सय ४० उद्योग बन्द

२०८० माघ १६, मङ्गलवार १२:२४ बजे

चितवन : घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् ।
कार्यालयका अनुसार चालू आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो ।
कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ वटा सेवामूलक उद्योग बन्द भएका छन् । सोही समयमा ४० वटा उद्योगले नामसारी गरेका छन् । खरिदबिक्रीपछि नाम सारी गरिएको उनले बताए । ११ वटा उद्योगले ठाउँसारी गरेका छन् ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई सय ५८ वटा उद्योग दर्ता भएका छन् । साना उद्योगतर्फ ती फर्महरू दर्ता भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता हुने क्रम न्यून र बन्द हुने तथा बिक्री हुने क्रम तीव्र भएको पाइएको उनले बताए ।

सोही समयमा व्यावसायिक फर्महरू एक सय ८१ वटाको लगत कट्टा गरिएको छ । १३ वटाको नामसारी र २२ वटाको ठाउँसारी गरिएको उनले जानकारी दिए । व्यावसायिक फर्मतर्फ दुई सय ७३ वटा नयाँ दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा व्यवसाय बन्द गर्नेको संख्या चार सय ३४ रहेको थियो ।
यस्तै ३८ वटाले ठाउँसारी गरेका थिए । गत आर्थिक वर्ष २०७९\८० मा दुई सय ६९ वटा उद्योग बन्द भएका थिए । उनका अनुसार गत आर्थिक वर्षमा आठ सय ५९ वटा उद्योग दर्ता भएका थिए । सो वर्ष नामसारीका लागि ६३ वटा उद्योगका सञ्चालकहरूले निवेदन दिएका थिए भने ३४ वटाले स्थान परिवर्तन गरेका थिए ।
वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको संख्या बढ्दो रहेको उनले बताए । उद्योग सञ्चालन गर्ने तर यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्नेहरूको संख्या उच्च रहेको उनले बताए । उनले भने, ’पाँच लाखसम्मको उद्योग वा व्यापारिक फर्महरू पालिकामा दर्ता हुने यहाँ बन्द गराएको पाइन्छ ।’ आर्थिक मन्दी, कोरोना असरका कारण समेत साना उद्योगहरू बन्द हुने अवस्थामा पुगेको उनले बताए ।
कार्यालयमा दर्ता हुन आउने उद्योगहरू अधिकांश महिलाका नाममा दर्ता हुने गरेका छन् । राजस्वमा ५० प्रतिशत छुट हुने भएकाले महिलाका नाममा दर्ता गर्नेहरूको संख्या बढेको खनालले जानकारी दिए । चालू आर्थिक वर्षमा एक सय ३३ जना महिला उद्यमीले उद्योग दर्ता गराउँदा पुरुषका नाममा एक सय ११ वटा दर्ता भएका छन् ।