पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

भारतीय गुप्तचर संस्था 'र' बारे दि गार्डियन अखबारको जिकिर र पाकिस्तानको निन्दा

२०८० चैत्र २४, शनिवार २३:५४ बजे

एजेन्सी- पाकिस्तानले भारतीय रक्षा मन्त्री राजनाथ सिंहले गरेको "उत्तेजक टिप्पणी" को निन्दा गरेको छ ।

आफ्नो भूमिमा आक्रमण गरि सीमापार भाग्ने जो कोहीलाई पनि भारतले पाकिस्तान भित्र प्रवेश गरि मार्ने टिप्पणी एक अन्तरवार्तामा सार्वजनिक गरेपछि उक्त अभिव्यक्तिको पाकिस्तानले निन्दा गरेको हो। 

सिंहको टिप्पणी शुक्रबार गार्डियन अखबारले "विदेशी माटोमा बस्ने आतंकवादीहरूलाई" लक्षित गर्ने बृहत् योजनाको रूपमा भारतले २०२० यता पाकिस्तानमा करिब २० व्यक्तिको हत्या गरेको रिपोर्ट प्रकाशित गरेपछि आएको हो।

पाकिस्तानको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ती जारी गर्दै, "पाकिस्तान भित्र स्वेच्छाचारी रूपमा 'आतंकवादी' भनी घोषणा गरिएका नागरिकहरूलाई गैर-न्यायिक रूपमा हत्या गर्ने आफ्नो तयारीको भनाइले स्पष्ट रूपमा भारतले आफ्नो दोष स्वीकार गरेको छ," भनेको छ। 

मन्त्रालयको विज्ञप्ती यस्तो "अदुरदर्शि र गैरजिम्मेवार व्यवहार" ले क्षेत्रीय शान्तिलाई कमजोर मात्र गर्दैन, दीर्घकालीन रूपमा रचनात्मक संलग्नताको सम्भावनालाई पनि बाधा पुर्‍याउँछ, भनेको छ। 

"पाकिस्तान कुनै पनि आक्रामक कार्यको बिरूद्ध आफ्नो सार्वभौमिकताको रक्षा गर्न आफ्नो उद्देश्य र क्षमतामा दृढ छ," मन्त्रालयले आफ्नो विज्ञप्तीमा थप स्पष्ट पार्दै उल्लेख गरेको छ।

शुक्रबार स्थानीय प्रसारक सिएनएन न्युज १८ सँगको अन्तर्वार्ताको क्रममा भारतीय रक्षा प्रमुखलाई गार्डियन रिपोर्टको बारेमा सोधिएको थियो । उनले जवाफमा "यदि तिनीहरू पाकिस्तानमा भागे भने, हामी तिनीहरूलाई मार्न पाकिस्तानमा प्रवेश गर्नेछौं।" भनि अभिव्यक्ति दिएका थिए। 

"भारत सधैं आफ्ना छिमेकी देशहरूसँग राम्रो सम्बन्ध राख्न चाहन्छ ... तर यदि कसैले भारतलाई बारम्बार कुदृष्टिले हेर्छ, भारतमा आएर आतंकवादी गतिविधिलाई बढावा दिने प्रयास गर्छ भने, हामी तिनीहरूलाई छोड्ने छैनौं," सिंहले थप स्पष्ट पार्दै भने। 

दि गार्डियन अखबारमा भारतीय गुप्तचर संस्था 'र' बारे के जिकिर छ ? 

बेलायती अखबार दि गार्डियनले भारतको गुप्तचर निकाय रिसर्च एण्ड एनालिसिस विङ (रअ) ले भारतबाहिर आफ्ना दुस्मनहरू धमाधम मार्न थालेको दाबी गरेको छ । यस्तो हत्यामा रअले धार्मिक तथा अपराधिक गिरोह तथा गरिबलाई उकास्ने गरेको अखबारको जिकिर छ ।

हिजो गार्डियनमा पत्रकार त्रय हान्ना एलिस पिटरसन, आकाश हसन र मिर बालुचको संयुक्त रिपोर्टअनुसार रअले नेपाल, माल्दिभ्स, मौरिसस, पाकिस्तान, क्यानडामा मान्छेहरू धमाधम मारेको छ । समाचारमा गरिएको दाबीअनुसार पाकिस्तानमा मात्रै सन् २०२० यता २० जनाको हत्या गरिएको छ । पाकिस्तानलाई आधार बनाएर भारतमा आतंककारी हमला गर्ने हतियारधारी समूहका नेता तथा तीनका सहयोगीलाई रअले पाकिस्तानमै मार्दै आएको उक्त रिपोर्टमा उल्लेख छ । पाकिस्तानमा रअको हत्या श्रृंखलाको योजना भूमि भने संयुक्त अरब इमिरेटस् (युएई) भएको बताइएको छ । रअको ‘स्लिपर सेल्स’ हरू युएईमा भएको गार्डियनले लेखेको छ ।

क्यानडमा मारिएका धार्मिक सिख पृथकतावादी नेताको उदाहरण दिँदै गार्डियनले भारतले आफूलाई जोखिम ठानेकाहरूलाई भारत बाहिर मार्ने क्रम बढाएको बताएको छ । सन् २०२३ जुन १८ मा क्यानडामा सिख नेता हर्दिप सिंह निजर मारिएको र त्यसमा भारत सरकारको संलग्नता भएको भनेर क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानेडाली सदनमै भनेको उदाहरण दिँदै गार्डियनले रअको भारतबाहिरका हत्याको श्रृंखला उत्तर अमेरिकी महादेशमा पनि पुगेको उल्लेख गरेको छ । अमेरिकामा भने रअको हत्या योजना तुहिएको गार्डियनले लेखेको छ ।

पाकिस्तानमा भारतमा आतकंककारी हमला गर्नेहरूका अगुवा तथा सहयोगी मारिएको, क्यानडामा सिख पृथकतावादी मारिएको बताएको गार्डियनले नेपाल, माल्दिभ्स र मौरिससमा भने कस्ता अनुहार मारिएको भनेर किटान गरेको छैन । यी देशमा पनि रअले हत्या गरेको भन्ने अर्थमा मात्रै नेपाल, माल्दिभ्स र मौरिससको नाम लिइएको छ ।

सन् २०१९ फेब्रुअरी १४ मा भारतको पुल्वामामा ४० जनाको हत्या गर्ने एक आत्मघाती हमलापछि भारतीय अधिकारीहरूले भारतमा मात्रै होइन विदेशमै भारतीय सुरक्षामा चुनौती दिनेको हत्या गर्ने योजना बनाएको गार्डियनले लेखेको छ । पुल्वामा भन्दा चार महिना अगामी टर्कीको कन्सुलेटमा साउदीका बाघी पत्रकार जमल खगोसीको साउदी सरकारले सन् २०१८ अक्टोबर २ मा हत्या गरेको उदाहरणले भारतीय रलाई हत्यामा हौसला मिलेको रका अधिकारीहरुलाई सोधेर गार्डियनले उल्लेख गरेको छ ।

खगोसीको हत्यापछि भारतीय प्रधानमन्त्रीको मातहत हुने रका अधिकारीहरूले भारतका उच्च अधिकारीहरूसँग कुरा गरेको र हामीले पनि यस्तै किन नगर्ने भन्ने छलफल भएको ती अधिकारीले गार्डियनलाई बताएका छन् । साउदी र इजरायलले आफ्नो देश बाहिर हत्या गर्न सक्ने, भारतले किन नसक्ने ? भन्ने प्रश्न आएपछि यस्तो अभियान सुरू भएको रअका अधिकारीले बताएको समाचारमा उल्लेख छ ।