पाठशाला न्यूज
 २०८१ बैशाख २२, शनिबार    

एमाले धादिङको नवौं अधिवेशनको स्थगित भएको बन्दसत्र सुरु

२०८० फाल्गुन १, मंगलबार १८:५८ बजे

काठमाडौं- नेकपा एमाले धादिङको नवौँ जिल्ला अधिवेशनको स्थगित भएको बन्दसत्र आजबाट पुनः सुरु भएको छ । 

गत माघ १९ गते उद्घाटन भएका बन्दसत्र सुरु हुने बित्तिकै विवाद भएपछि स्थगित भएको थियो । स्थगित बन्दसत्र पुनः आजबाट सुरु भएको हो । 

विवादका विषयमा छलफल गरी आजबाट पुन अधिवेशनको बाँकी काम सुरु गरिएको एमाले संगठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो । बन्दसत्रको अध्यक्ष मण्डल, प्रतिनिधि छनौट, प्रतिनिधि छनौटको विधि र प्रक्रिया लगायत विषयमा सहमति जुटेपछि बन्दसत्र सुरु भएको हो ।

बन्दसत्रको अध्यक्ष मण्डलको अध्यक्षता नेकपा एमाले स्थायी समिति सदस्य तथा जनसंगठनका प्रमुख भानुभक्त ढकालले गर्नुभएको छ । ढकालले मिसन ०८४ सफल बनाउन पार्टीलाई एक बनाएर लैजानु पर्ने बताउनुभयो ।  

अध्यक्ष मण्डलको सदस्यहरूमा पार्टी वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल, केन्द्रीय सदस्य तथा धादिङका इन्चार्ज धर्मदत्त देवकोटा, संगठन विभागका सचिव माधव ढुङ्गेल, केन्द्रीय सदस्यहरू खेम लोहनी, जानुका सिम्खडा, रेसम लामा, वाग्मती प्रदेशका उपाध्यक्ष दावा दोर्जे लामा र प्रदेश कमिटी सचिव नवराज सिलवाल रहनुभएको छ । 

बन्द सत्रले नेकपा एमाले धादिङका जिल्ला अध्यक्ष भूमि त्रिपाठीले प्रस्तुत गर्नुभएको राजनीतिक तथा सांगठनिक प्रतिवेदन र लेखा आयोगका सदस्य गोकर्ण दुवाडीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सुझाव सहित पास गरेको छ ।

प्रतिवेदनको काम सकेपछि नेतृत्व चयनका काम हुने छ । अधिवेशनमा ५ सय ७८ जना प्रतिनिधि रहेका छन् । जसले १सय ५ सदस्सीय नयाँ नेतृत्व चयन गर्ने छ ।