पाठशाला न्यूज
 २०८१ बैशाख १७, सोमबार    

सरकारसँग पैसा छ : अर्थमन्त्री पुन

२०८० चैत्र ७, बुधबार १८:१५ बजे

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले सरकारलाई पैसाको अभावभन्दा पनि खर्च गर्ने क्षमता वृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।
बुधवार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०८१\०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले सरकारसँग अहिले पर्याप्त मात्रामा पैसा रहेको बताए। अर्थमन्त्री पुनले लगानी गर्ने पर्याप्त पुँजी हुँदासमेत खर्च गर्ने क्षमतामा कमी भएकाले वैदेशिक सहायता पनि खर्च गर्न नसकिएको बताए ।
विदेशी सहयोगमा प्रतिबद्धता भएको ५ खर्बभन्दा बढी रकम रहेको बताउँदै अर्थमन्त्री पुनले सरकारको वार्षिक पुँजीगत बजेट जम्मा ३ खर्ब रहेको स्मरण गरे ।
उनले निवर्तमान अर्थमन्त्रीले सकारात्मक रुपमा चुनौती दिए पनि अब सरकारले सहयोग जुटाउनेभन्दा पनि खर्च गर्न आवश्यक रहेको बताए । उनले प्रतिबद्धता भएको रकमसमेत खर्च गर्न नसकेको भन्दै कमजोरीका विषयमा सबैले समीक्षा गर्नुपर्नेमा जोड दिए ।
उनले विगतमा वैदेशिक साहयता २० देखि २५ प्रतिशत खर्च हुने गरेको भए पनि अहिले ७ प्रतिशतमा सिमित रहेको बताए । उनले पछिल्लो १२ वर्षमा बजेट आकार बढेर ५ खर्बबाट १७ अर्ब पुगेको बताए ।
सार्वजनिक वित्तको क्षेत्रमा देखिएका चुनौतीलाई समाना गर्न सकिने अवस्थामा रहेको तर देशको समृद्धि, सुशासन, सामाजिक न्याय सबैको साझा प्रतिबद्धता भएकाले सबैसँग सहयोगको अपेक्षा गरेको उनले बताए । उनले विगतमा जस्तो नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीति फरक–फरक भएकाले अब एकीकृत रुपमा ल्याउने प्रतिबद्धता जनाए ।