पाठशाला न्यूज
 २०८१ जेष्ठ ४, शुक्रवार    

करिब ९ करोड लागत अनुमान गरिएको ताल बाराही मन्दिरको पुनर्निर्माण सुरु

२०८० कार्तिक ९, बिहीवार १५:२० बजे

पोखरा- पोखराको फेवातालमा रहेको प्रसिद्ध ताल बाराही मन्दिरको पुनर्निर्माण हुने भएको छ । 

करिब ९ करोड लागत अनुमान गरिएको उक्त मन्दिरको पुनर्निर्माणको लागि बिहिबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा जग पुजा शुभारम्भ गरिएको हो । शुभारम्भ कार्यक्रममा धार्मिक विधि भागवत भाष्कर कमल नयन गौतमले पुरा गराएका थिए ।

मन्दिर पुनर्निर्माणका लागि आवश्यक बजेटको पूर्ण व्यवस्थापन भने हालसम्म नभएको श्री ताल बाराही मन्दिर गुठी व्यस्थापन समितिका अध्यक्ष हिक्मत बहादुर कुँवरले जानकारी दिए ।

पुनर्निर्माणका लागि पुरातत्व विभागबाट ९ लाख रुपैयाँ प्राप्त भएतापनि उक्त रकम पर्याप्त नहुने अध्यक्ष कुँवरले बताएकाछन्। यद्यपि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मन्दिर पुन:निर्माणको लागि पोखरा महानगरपालिकाले सहयोग गर्ने बताएकाछन् । जगपुजाका क्रममा आफ्नो मन्तव्य राख्दै उनले पैसाको चिन्ता नलिन आग्रह समेत गरें ।

मास्टर प्लान अनुसारको मन्दिर र परिसरमा रहने संरचना निर्माणको लागि ९ करोडको लागत अनुमान गरिएको उक्त मन्दिर साढे १३ फिट चौडाइको बन्नेछ भने १८ इन्चको गाह्रो लगाइनेछ ।  

यसअघिको मन्दिर भुकम्पले क्षति पुर्याएको हुनाले हाल पुनर्निर्माण गर्न लागिएको ताल बाराही मन्दिर परिसरको माथिल्लो भागमा मास्टर प्लानमा भएको डिजाइन अनुसारको गणेश मन्दिर, मुल मन्दिर र होमनकुण्ड निर्माण हुने बताइएको छ । यसैगरी अन्डर ग्राउन्डमा सभाहल, बैठककक्ष, फोटोग्राफी, फूलप्रसाद, शौचालय लगायतका संरचना निर्माण हुनेछन् । 

अबको कम्तिमा २ सय वर्ष सम्म मन्दिर पुन:निर्माण गर्न नपरोस् भन्ने हिसाबले पुनर्निर्माण प्रयास भैरहेको जानकारी दिदैं गुठीका अध्यक्ष कुँवरले मन्दिर पुनर्निर्माण कार्य अबको दुई बर्षमा सम्पन्न हुने जानकारी दिएका छन्।