पाठशाला न्यूज
 २०८१ आश्विन २०, आइतवार    

लिबियाको डेर्नामा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या ११३०० नाघ्यो (फोटो फिचर सहित )

२०८० भाद्र २९, शुक्रवार १२:३७ बजे

डेर्ना,लिबिया–गत आईतबार राती लिबियाको तटीय शहर डेर्नामा भारी वर्षाका कारण ड्यानियल आँधीसँगै आएको भीषण बाढीका कारण नदीमा बाँधिएका दुई वटा बाँध भत्किए पछि बाढीले गाउँ-शहरका भवन र तिनमा बसेका अधिकांश मानिसहरुलाई बगाएको थियो ।
बाढीले पुर्‍याएको मानविय क्षतिको खोजी कार्य जारी रहँदा मृत्यु हुनेको सङ्ख्या ११,३०० पुगेको लिबियाको रेड क्रिसेन्टले बिहीबार जनाएको छ भने मृत्यु हुनेको सङ्ख्या बढेर २०००० नाघ्न सक्ने डेर्नाका मेयरले अनुमान लगाएका छन् ।
सहायता समूहका महासचिव मारी एल-ड्रेसेले बताए अनुसार भूमध्यसागरीय सहरमा थप १०,१०० बेपत्ता छन् । स्वास्थ्य अधिकारीहरूले यसअघि डेर्नामा मृत्यु हुनेको संख्या ५,५०० रहेको बताएका थिए ।

सबैभन्दा बढी प्रभावित क्षेत्र र सहरको अवस्था

सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा डेर्ना, अल्बायदा, साउसा, अल-मर्ज, शाहत, ताकनीस, बट्टाह, टोल्मीता, बेर्सिस, टोक्रा र अल-अब्यार लगायतका छन् । विद्यालय र होटलहरू आश्रयस्थलका रूपमा प्रयोग भइरहेका छन् ।
बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासन सम्बन्धी अन्तरराष्ट्रिय सङ्गठन (आईओएम) ले जनाएको छ ।

भारी बर्षा पछि आएको आँधी ड्यानियलले बाँध फुटाई शहरका ठूला क्षेत्रहरूमा पानी बगाएर ठूलो विनाश निम्त्याएको कारण डेर्नालाई आँधीबाट सबैभन्दा बढी प्रभावित स्थान भएको रिपोर्ट गरिएको छ । एक आईएनजीओले शहरको ३० प्रतिशत भाग बाढीको परिणाम स्वरूप हराएको हुन सक्छ भनी अनुमान गरेको छ । UNOSAT विश्लेषणको आधारमा, २२०० भन्दा बढी भवनहरू बाढीको चपेटामा परेको अनुमान गरिएको छ । डेर्नाका मेयरले सहरको अवस्था द्रुत रूपमा बिग्रँदै गएको भन्दै अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेका छन् । अधिकांश सडक भत्किएपछि नगरपालिकाले आपत्कालीन राहत र उद्धारका लागि समुद्री करिडोर स्थापना गर्न सम्बन्धित निकायलाई आग्रह गरिरहेको छ ।
टोक्रा र तालमिथा सहरबीचको सडक अवरुद्ध छ भने शाहत र सुसे बीचको सडक अवरुद्ध छ । बिजुली अवरुद्धले अल्बायदा, शाहत र अल-मर्ज सहरका धेरैजसो क्षेत्रमा असर गरेको छ । अल्बायदाका मेयरले स्थिति पूणर्तया नियन्त्रण बाहिर भएको घोषणा गरेका छन् र जीवन बचाउन तत्काल हस्तक्षेप गर्न आह्वान गरेका छन् । यसैबीच सहरको आपतकालीन तथा एम्बुलेन्स शाखाका निर्देशकले धेरै घरहरू बाढीले बगाएको बारे तत्काल अपील जारी गर्दै धेरै बासिन्दाहरू छतमा अलपत्र परेको बताएका छन् । बेनघाजीमा शिक्षा अनुगमन प्राधिकरणले सेप्टेम्बर १४ सम्म कक्षाहरू स्थगित गरेको छ, जबकि पूर्वी लिबियाका प्रभावित क्षेत्रहरूमा अन्य ठाउँहरूमा पनि कक्षाहरू स्थगित गरिएको छ । लिबिया एम्बुलेन्स सेवा र राष्ट्रिय तेल निगमले उद्धार र राहत कार्यमा सहयोग गर्न स्रोतहरू परिचालन गरेका छन् । लिबिया एम्बुलेन्स सेवाका प्रवक्ताका अनुसार, सम्पूर्ण शहर पानीमा डुबेको छ, हेलिकप्टरहरू सहित हवाई उद्धार कार्यहरू आवश्यक रहेको बताईएको छ ।
९० हजार जनसङ्ख्या भएको सहर डेर्नामा अहिले जताततै शव मात्र छरिएका छन् । उद्वारकर्ता र सामाजिक संघसंस्थालाई शव व्यवस्थापन गर्न ज्यादै चुनौतिपूर्ण बनेको छ । बाढीले विनास बाहेक डेर्नामा केही देखिदैन । भत्किएका सडक, ध्वस्त सञ्चार सञ्जाल, वर्षौको गृहयुद्व र जलवायु परिवर्तनका प्रभावहरुले लिबियालाई विश्व कै सबैभन्दा सकसपूर्ण मानवीय सङ्कट भएको देश बनाएको छ । लिबियाका लागि अन्तर्राष्ट्रिय उद्धार समितिका देशीय निर्देशक एली अबाउओनले डेर्ना पुरै जलमग्न भएको बताएका छन् । सरकारी अधिकारीहरूले डेर्नाको पश्चिम र बेनगाजीको पूर्वमा रहेको तटीय शहर टोक्राकोे बाँध पनि भत्किनसक्ने चेतावनी दिँदै तटीय क्षेत्र र आसपासका बासिन्दाहरूलाई तत्काल ती स्थानबाट सुरक्षित ठाउँमा सर्न आग्रह गरेका छन् ।

लिबियाका लागि अन्तर्राष्ट्रिय उद्वार समितिका देशीय निर्देशक अबाउओनका अनुसार मानवीय सहयोग मन्द गतिमा प्राप्त हुन थालेको छ । मानवीय सहायतासँगै डेर्नालाई तत्काल जनशक्ति आवश्यक परेको छ । धेरै देशले पहिले नै फिल्ड अस्पताल र अन्य सहायता सामग्री पठाइसकेका छन् ।

खोज र उद्धारलाई अझ तीव्र गतिमा सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै अब जीवित मानिस फेला पार्न कठिन हुने उनी बताउँछन् । उनले अन्तर्राष्ट्रिय सहायता निकाय र विदेशी सरकारलाई गत साताको मोरक्को भूकम्पपछि सहायता परिचालन भएको गतिमा लिबियालाई सहयोग आवश्यक भएको उनले बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाईडेनले लिबियालाई सहयोग गर्ने घोषणा गर्नुभएको छ भने विश्वका अन्य नेताहरूले पनि सहयोगको वाचा गरेका छन् । लिबियाका धेरै छिमेकीले उद्धार टोली र मानवीय सहायता सामग्री पठाउन थालेका छन् । लिबियाका बाढीपीडितलाई सघाउन संयुक्त राष्ट्रसङ्घले तत्काल एक करोड अमेरिकी डलर उपलव्ध गराउने घोषणा गरेको छ ।

(फोटो फिचर)