पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

एनएमबि बैंकको ९६ करोड ३२ लाख रुपैयाँ नाफामा वृद्धि

२०८० कार्तिक १७, शुक्रवार ०९:१५ बजे

काठमाडौं : एनएमबि बैंकले चालु आर्थिक वर्ष २०८०\८१ को पहिलो त्रैमासमा ९६ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्ष २०७९\८० को पहिलो त्रैमासको तुलनामा ६.५३ प्रतिशतले बढी हो । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आवको पहिलो त्रैमासमा बैंकको नाफा ९० करोड ४१ लाख रुपैयाँ थियो ।
तीन महिनाको अवधिमा बैंकको खुद ब्याज आम्दानीमा वृद्धि भएको छ । बैंकले तीन महिनामा दुई अर्ब २२ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यो दुई अर्ब पाँच करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकले पहिलो त्रैमाससम्ममा एक अर्ब ३७ करोड रूपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो नाफा एक अर्ब २९ करोड रुपैयाँ थियो ।

बैंकले हालसम्म एक खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । दुई खर्ब एक अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
बैंकको चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ कायम छ । यो बैंकको जगेडा कोषमा नौ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ कायम छ । गत वर्षको पहिलो त्रैमासको अवधिमा जगेडा कोषमा ८ अर्ब ७१ करोड २५ लाख रुपैयाँ थियो ।
बैंकको खराब कर्जा पहिलो त्रैमासमा बढेको छ । असोज मसान्तसम्म बैंकको खराब कर्जा २.८४ प्रतिशत छ । गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा १.९० प्रतिशत थियो । बैंकको आधार दर (बेसरेट) ९.८५ प्रतिशत छ । गत वर्षको सोही अवधिमा बेसरेट १०.१५ प्रतिशत थियो ।