पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

लुम्बिनी विकास कोषको उपाध्यक्षमा विवादास्पद व्यक्ति ल्हारक्याल लामा नियुक्त

२०८० श्रावण २१, आइतवार २२:०८ बजे

काठमाडौँ –वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, राहदानीलगायतका अभियोगमा पक्राउ पर्दै छुट्दै आएका पूर्वसांसद ल्हारक्याल लामालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको हो । सरकारले आफूलाई कोषको उपाध्यक्षमा मनोनीत गरेको लामाले बताए । उनले कान्तिपुरसँगको सम्पर्कमा भने, ’मनोनीत भएँ । अब काम गर्ने हो ।’ लामाले व्यस्त छु भन्दै थप कुरा गरेनन् ।
माओवादी केन्द्रीय सदस्य रहेका लामाले आइतबारनै नियुक्तिपत्र बुझेका छन् ।
उनी २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थराज्यमन्त्री नियुक्त भएका थिए । नियुक्तिलगत्तै दोहोरो नागरिकता र राहदानीको विषय उठेपछि उनले १० दिनमै मन्त्री पदबाट राजीनामा दिएका थिए । २०६४ सालको पहिलो संविधानसभामा एमालेबाट समानुपातिक सभासद बनेका लामा २०७० मा माओवादी प्रवेश गरी दोस्रो संविधानसभामा पनि सभासद बनेका थिए । उनी २०५८ सालमा कांग्रेसबाट गुम्बा व्यवस्था तथा विकास समितिको अध्यक्ष बनेका थिए ।