पाठशाला न्यूज
 २०८१ जेष्ठ ७, सोमवार    

मेयर भरत थापाको निमन्त्रणामा शनिवार प्रधानमन्त्री प्रचण्ड सर्लाही आउँदै

२०८० फाल्गुण ११, शुक्रवार २०:२३ बजे

बागमती : सर्लाहीको वागमती नगरपालिकाका नगर प्रमुख (मेयर) भरत थापाको निमन्त्रणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोली शनिवार सर्लाही आउने भएका छन् ।
साँस्कृतिक तथा शैक्षिक सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड सर्लाही आउन लागेका हुन् । वागमती नगरपालिकाको आयोजनामा वडा नम्वर ११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृती खेलमैदानमा आयोजना हुन लागेको महोत्सवको प्रधानमन्त्री प्रचण्डद्वारा उदघाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
महोत्सवका लागि पूर्व अभ्यासको काम विहिवार नै सकिएको बागमती नगरपालिकाका शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्ययाय बताएकाछन् । उनकाे अनुसार भोलि बिहान साढे ११ बजेसम्म सम्पूर्ण तयारी पुरा हुनेछ। शिक्षा शाखा प्रमुखका अनुसार भोलि २ बजे प्रधानमन्त्रीको हातबाट कार्यक्रमको विधिवत उदघाटन हुने कार्यक्रम रहेकाेछ ।
नगरका हरेक बालबालिकाहरुलाई गुणस्तरिय शिक्षाका साथै समाजका मौलिकता, संस्कार तथा सँस्कृतिका ज्ञान दिलाउन र तिनका संरक्षण, सम्बर्दनमा थप टेवा पुर्याउने उदेश्यले शैक्षिक तथा सांस्कृतिक महोत्सवको परिकल्पना गरेको वागमती नगरपालिकाका मेयर भरत थापाले बताए । बालबालिकाहरुलाई गुणस्तरिय शिक्षाका साथ साथै संस्कार र सँस्कृतिको समेत ज्ञान हुनुपर्छ अनि मात्र असल नागरिक निर्माण हुन्छ मेयर थापाले भने । सामुदायिक विद्यालय राजनितिक गर्ने अखडा बन्दै गएको थियो । सबै तिरबाटै निकालिएका, गरिब दुखी तथा विपन्नका छोराछोरीहरु मात्र पढने ठाउँ हो भन्ने दृष्टिकोण जनमानसमा रहेको उनले बताए। समुदायिक विद्यालयको अवस्था राम्रो छैन । त्यहाँ सजाय भोग्न मात्र जाने हो भनी पुरानो दृष्टिकोणलाई वागमती नगरपालिकाले उल्टयाएको उनको दाबी छ ।
सामुदायिक विद्यालय र समुदाय बिच रहेका दुरी कम गर्न र संस्कार सँस्कृतिको संरक्षण गर्दै सामुदायिक विद्यालयप्रति अभिभावकहरुको थप आकर्षण तथा रुचि बढाउन सम्मेलन कोसेढुङ्गा सावित हुने उनको विश्वास छ । महोत्सवमा मार्फत बिद्यार्थीहरुले सातै प्रदेशको मौलिक पहिचान झल्कने भेषभुषा तथा नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ ।
हरेक विद्यालय, टोल र वडाबाट आफनो आफनो सांस्कृतिक पहिचानको पोशाक तथा नाचगानसँगै विभिन्न विद्यालयका १० औं हजार अभिभावक हामी सुधार गर्छाै, हाम्रो विद्यालय जस्तो नारा सहितको उपस्थित रहने कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारको आकर्षण प्रस्तुति समेत हुने आयोजकले जनाएको छ ।
२५ लाख लागत अनुमान गरिएको एक दिने महोत्सवको २५ हजार स्थानीय अभिभावक लगायतले अवलोकन गर्ने अनुमान गरिएको छ । सामुदायिक विद्यालयका ३ हजार भन्दा बढी विद्यार्थीहरुको एकैसाथ नृत्य प्रस्तुत देशकै ईतिहासमा पहिलो हुने समेत दाबी गरिएको छ ।