पाठशाला न्यूज
 २०८१ जेष्ठ ६, आइतवार    

नक्कली बाबु बनेर नागरिकता दिलाउने वीरगंजका मेयर सिंह बिरुद्ध जाहेरी दर्ता

२०८० पौष २४, मङ्गलवार २०:४२ बजे

जलेश्वर साह 

वीरगंज/पर्सा- वीरगंज महानगरका मेयर राजेशमान सिंह बिरुद्ध जिल्ला प्रसाशन कार्यालय पर्सामा जाहेरी दर्ता भएको छ। 

मेयर सिंहले नक्कली बाबु बनेर झुटो विवरण पेश गरि नागरिकता दिलाएको सम्बन्धमा नागरिकता लिने रुबिना श्रेष्ठ र मेयर सिंह बिरुद्ध उक्त जाहेरी दर्ता भएको हो । 

नेपाली कांग्रेस पर्सा क्षेत्र ३ नं. का पार्टी क्षेत्रीय अध्यक्ष महम्मद सहाबुदीनले उक्त जाहेरी मेयर सिंह र रुबिना श्रेष्ठ बिरुद्ध दर्ता गराएका हुन् ।

मेयर सिंहले किर्ते गरि नक्कली बाबु बनेर अबैध तरिकाले नागरिकता दिलाएको भनि जाहेरीको कसुर सम्बन्धी विवरणमा भनिएको छ कि विपक्षी मध्येका विपक्षी राजेशमान सिंह हाल वीरगंज महानगपालिकाका मेयर छन् । यिनी भुपेन्द्रमान सिंहका छोरा हुन। यिनकी एकमात्र पत्नि अन्नपूर्णा मानन्धर हुन् । विपक्षी राजेशमान सिंह र निजकी पत्नि अन्नपुर्णा मानन्धरको दाम्पत्य जीवनबाट सन्तानको रुपमा एकमात्र छोरा अं.वर्ष ३० को अनिशमान सिंहको जायजन्म भएको छ भन्ने कुरा विपक्षी राजेशमान सिंहले विभिन्न सरकारी निकायमा पेश गर्नु भएको पारिवारिक विवरणबाट प्रष्ट हुन्छ, साथै टोल छिमेकी मात्र होईन लगभग वीरगंजका हरेक नगरबासिलाई निजको १ मात्र छोरा सन्तानको रुपमा रहेको तथ्य थाहा छ ।

विपक्षी राजेशमान सिंह नगर प्रमुख बन्नु भन्दा पहिला आज भन्दा ९ वर्ष अगाडि काठमाण्डौमा जन्मिएकी बाबु र आमाको नाउँ सम्झना नभएको एक जना भट्टराई थर भएको दम्पतिको छोरीलाई आफ्नो छोरी भनी निजको नाउँ रुबीना श्रेष्ठ राखी निजको जन्म मिति २०५९।३।३० उल्लेख गरी वीरगंज महानगरपालिका वडा नं. ३ को कार्यालयबाट मिति २०७१।७२० गते जन्मदर्ताको झुठो प्रमाणपत्र बनाउन लगाएको देखिन्छ । निज राजेशमानले रुबीनाको जन्म मिति उल्लेख गरेको साल देखि झण्डै १२ वर्ष पछि सो झुठो जन्म दर्ता प्रमाणपत्र बनाएको देखिन्छ । निज रुबीनाको थर पनि हेर्दा त्यहाँ श्रेष्ठ उल्लेख रहेको छ, जबकि राजेशमानको थर सिंह रहेको छ र राजेशमान सिंहको पत्निको थर मानन्धर रहेको छ । निजहरुको दाम्पत्य जीवनबाट जन्मेको एकमात्र छोराको थर हेर्दा सिंह नै उल्लेख रहेको कारणबाट पनि विपक्षी रुबीना श्रेष्ठ अर्का विपक्षी राजेशमान सिंहको छोरी नभएको कुराको सजिलै अनुमान गर्न सकिन्छ । विपक्षीहरुले झुठो विवरण दिई बनाएको जन्मदर्ताको रेकर्ड वडा नं.३ को कार्यालयमा माग गर्दा वडा अध्यक्ष र सचिवले सो रेकर्ड हराईसकेको भन्ने कुरा भन्नु हुन्छ ।

विपक्षीहरुले आपसमा मिलोमतो गरी झुठो जन्मदर्ता बनाई सोहि झुठो जन्मदर्ताको आधारमा जिल्ला प्रशासन कार्यालयमा अर्काकी छोरीलाई आफ्नो छोरी हो भनी झुठो विवरण पेश गरी मिति २०७५।४।१३ गते रुबीना श्रेष्ठको नाउँमा ३४- ०१-७५-०४८४७ नम्बरको नागरिकता बनाउन सफल भएका छन । सो नागरिकता सनाखत गर्ने व्यक्तिको नाउँमा राजेशमान सिंह र निजको नागरिकता नं.३४-१६०३१८८१७ उल्लेख रहेको छ । अर्को महत्त्वपूर्ण कुरा के छ भने उक्त नागरिकतामा आमाको नाउँ उल्लेख रहेको छैन । त्यसबाट पनि सो कार्य झुठो विवरण पेश गरी गरीएको भन्ने कुराको सजिलै अनुमान गर्न सकिन्छ । उल्लेखित मितिमा लिईएको नागरिकताको अनुसूचि फारम वडा अध्यक्षले सिफारिस गर्ने व्यवस्था रहेकोमा रुबीना श्रेष्ठको नागरिकताको अनुसूचि फारममा वडा अध्यक्षबाट सिफारिस नगराई वडा सदस्य तुफैल अख्तरबाट सिफारिस गराएको तथ्य बाहिर आएको छ । साथै नागरिकता लिँदा भरिएको अनुसूचि फारममा आमाको नाउँ रिता भट्टराई सिंह उल्लेख रहेको तथ्य पनि बाहिर आएको छ । विपक्षी रुबीना श्रेष्ठले सोहि नागरिकताको आधारमा जिल्ला प्रशासन कार्यालयबाट मिति २०७९।४।२४ गते राहदानी नम्बर ११०३९६१७ को राहदानी पनि लिन सफल हुनु भएको छ । तसर्थ विपक्षीहरुले झुठो जन्मदर्ताको विवरण पेश गरी लिनु भएको र दिलाउनु भएको नागरिकता, राहदानी लिएको कार्य नागरिकता ऐनले गरेको व्यवस्था विरुद्धको कार्य भई अपराधिक कार्य भएकोले मेरो जाहेरी दर्खास्त उपर अनुसन्धान गरी रुबीना श्रेष्ठले लिनु भएको नागरिकता, राहदानी खारेज गरी दुवै विपक्षीलाई हदै सम्मको दण्ड सजाय हुने गरी कार्वाहि गरी पाउन यो जाहेरी दर्खास्त पेश गरेको छु । 

मेयर सिंहले नागरिकता जस्तो संवेदनशील कुरामा गरेको अपराध बिरुद्ध निजलाई तत्काल कारवाही गर्न दबाब दिने हिसाबले आज बसेको एक सर्वदलीय बैठकद्वारा भोलि पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई मेयर सिंहलाई तत्त्कालै कारवाही गरी मेयर जस्तो गरिमामय पदमा बसी पदको दुरुपयोग गर्न नपाइने गरी दवाव स्वरुप ज्ञापन पत्र बुझाउने तैयारी रहेको गरेको छ। नेपाली कांग्रेसका क्षेत्रीय अध्यक्ष महम्मद सहाबुदिन, नेकपा एमालेका लियाकत अलि, जनमतका शशिकपुर मिया र मुकेश द्विवेदी, राप्रपाका बीरगंज महानगर अध्यक्ष जलेश्वर सरार्फ, ने.वि.संघ पर्साका अध्यक्ष रमेश यादव, रास्वपाका साबिर मिया लगायतका विभिन्न राजनीति दलका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिको बिच उक्त निर्णय गरिएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारीले कारवाहीको क्रममा ढिलासुस्ती गरे चरणवद्ध आन्दोलनको घोषणा समेत गर्ने भनि महम्मद सहाबुदिनले उक्त बैठकमा आफ्नो भनाई राखेका थिए।

भोलि बुधवार दिनको दुई बजे मेयर सिंहलाई तत्त्कालै कारवाही गर्न दबाब स्वरूप राजनीतिकहरुले सर्वदलिय जुलुस निकालि नगर परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाउने तयारी समेत गरेको जनमत पार्टीका मुकेश द्विवेदीले बताएका छन्।